रोङ : इलामको रोङ गाउँपालिकामा भव्यतापूर्वक तिज विशेष कार्यक्रम सम्पन्न भएको छ। कुटिडाँडा स्थित हिलहुड होटलमा वडा कार्यालयको सहयोगमा भएको तीज मिलन कार्यक्रममा वडा क्षेत्रका करिब २ सय महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी महिलाहरुले तीजको अवसरमा परम्परागत गीत, नृत्य, संस्कृतिका विविध प्रस्तुति दिएर वातावरणलाई उल्लासमय बनाएका थिए।
वडा नं ३ का वडाध्यक्ष मात्रिका बरालको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबो सुबासको प्रमुख आतिथ्यता र गाउँपालिका उपाध्यक्ष विष्णुमाया खवासको विशेष आतिथ्यता रहको थियो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत बिनोद चौहान, राजस्व शाखा प्रमुख खगेन्द्र विश्वकर्मा लगायत विभिन्न संघ सस्थाका प्रमुख एवम प्रतिनिधिहरुको आतिथ्यता रहको थियो ।

कार्यक्रमका वक्ताहरुले तीज पर्व भडकिलो नभई सांस्कृतिक र परम्परा जोगाउने शैलीमा मनाउनुपर्ने बताए । देखासिकी भन्दा पनि आफ्नो गच्छे अनुसार तीज पर्वलाई मनाउन सुझाव दिए । उनीहरुले तीजलाई मात्र पर्वको रुपमा नभई, महिलाबीच आपसी एकता, सहकार्य र मेलमिलापलाई बलियो बनाउने अवसरका रुपमा लिनुपर्नेमा जोड दिए।

सांस्कृतिक प्रस्तुति, सामूहिक नृत्य, तीज गीतमा महिलाहरुको उत्साहजनक सहभागिता, सामुदायिक मेलमिलाप र खुसीयाली कार्यक्रमको विशेष आकर्षण बनेका थिए। सहभागी महिलाहरुले कार्यक्रममा रमाइलो गर्दै तीज पर्वलाई हर्ष उल्लासका साथ मनाएको देखिन्थ्यो। त्यसैगरी शान्ति निकेतन माविमा समेत तीज मिलन कार्यक्रम गरिएको छ । शिक्षक, अभिभावक र विद्यार्थीहरु भेला भएर तीज मिलन कार्यक्रम गरेका हुन् ।