इलाम । इलामकी जुनी राई प्रथम महिला प्रहरी सम्मेलन–२०८२ को अवसरमा सम्मानित भएकी छन् । खेलकुद विधाबाट सागमा ऐतिहासिक स्वर्ण जितेको कारण राई सम्मानित भएकी हुन् । राईले १३ औ दक्षिण एसियाली खेलकुद (साग) मा उसुको सान्सौ विधामा श्रीलंकाको खेलाडीलाई हराउँदै स्वर्ण जितेकी थिइन् ।
सान्सौ विधाको महिलामा राईले नेपाललाई पहिलो पटक स्वर्ण दिलाएकी थिइन् । उनलाई गृहमन्त्री रमेश लेखकले सम्मानपत्र र मायाको चिनो प्रदान गरे । देउमाई नगरपालिका–३ पानीटारकी राई हाल नेपाल प्रहरीको प्रहरी नायव निरिक्षकको रुपमा कार्यरत रहेकी छन् ।
साग गेममा नेपाल प्रहरीको तर्फबाट १० औ सागमा तेक्वान्दो खेलाडी मनिता शाही, १३ औ सागमा भारोत्तोमा सन्जु चौधरी, तेक्वान्दोकी निशा दर्नाल र पार्वती गुरुङ, करातेकी सरु कार्की, सुनिता महर्जन, निर्मला तामाङ र अनुपमा मगरले स्वर्ण जितेका थिए । प्रहरीले स्वर्ण विजेता मध्ये हाल कार्यरत मध्ये सिनियर एक जनालाई सम्मान गरिने भएकाले जुनीले सम्मान पाएकी हुन् । प्रथम महिला प्रहरी सम्मेलन भदौ ६ गतेसम्म संचालन हुनेछ ।
