रोङ (कुटिडाँडा) । इलामको रोङ गाउँपालिकामा अवस्थित करसोङ पदमार्गमा पदयात्रा गर्ने पर्यटकको संख्या बढेको छ । सानी पाथिभरा क्षेत्रको हाँसपोखरी क्षेत्रबाट शुरु भएको पदमार्गको गुगल डाँडासम्म पदयात्रा गर्ने पर्यटकको संख्या बढेको हो । करसोङ पदमार्गको हाँसपोखरी गुगल डाँडा क्षेत्र अहिले पर्यटकले भरिभराउ हुन्छ । पदमार्ग पदयात्रा गर्ने पर्यटकहरुमा नेपाल र भारतका पर्यटकहरु बढी छन् । इलामको रोङ गाउँपालिका ३ को गुगल डाँडा अहिले पर्यटकको आकर्षक गन्तव्यस्थल बनेको हो । नेपाल सरकारको भु मापन विन्दु गुगल डाँडामा दैनिक ३ सय बढी पर्यटक पुग्ने गरेका छन् । बिदाको दिन यहाँ पन्ध्रसय बढी पर्यटकहरुले पदयात्रा गर्दै आएका हुन् ।
समुन्द्र सतहबाट १ हजार ८ सय मिटरमा अवस्थित छ, गुगल डाँडा । गुगल डाँडामा वर्षातको झरीमा पनि नेपालसँगै छिमेकी भारतका पर्यटकहरुले पदयात्रा गर्ने क्रम बढेको हो । तराईको गर्मी छल्न अहिले पर्यटकहरु गुगलपार्क पुग्ने गरेको होटल व्यवसायी सुवास राईले बताए ।
नेपाल सरकार, नापी विभागको भू–मापन विन्दु रहेको डाँडा नै गुगल पोइन्ट हो । सुनाखरी सामुदायिक वन क्षेत्रको यस गन्तव्यलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न गुगल पोइन्ट नामाकरण थियो । रोङ गाउँपालिकाको अग्लो डाँडामा पर्ने गुगल पोइन्टमा भारतको कलकत्ता, दार्जिलिङ र सिक्किमबाट नेपाल भ्रमण गर्ने पर्यटकहरुको संख्या बढेको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बो सुबासले बताए । गुगल पोइन्टबाट सूर्योदय, कञ्चनजंघा हिमश्रङ्खला, अन्तुडाँडा, नेपाल र भारतका समथर भू–भाग, मेची नदीको दृश्यावलोकनमा रमाउन सकिन्छ । सानी पाथीभराको भ्रमण गर्ने प्राय पर्यटकहरु यहाँ पुग्ने गरेका छन् । गुगल पोइन्ट क्षेत्रमा अहिले पर्यटकीय पूर्वाधार थपिएका छन् ।
गुगलडाँडाबाट नजिकै गिद्धेभिर रहेको छ । गिद्धको बासस्थान रहेको अग्लो पहाड रहेकाले यहाँ चराको अध्ययन गर्न आउने संख्या पनि बढी छ ।
थप तस्बिरहरु