इलाम : जिल्ला ब्याडमिन्टन संघ, इलामले गत बैशाखमा आयोजना गरिएको कोशी प्रदेशस्तरीय खुला मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८२ को आम्दानी–व्यय विवरण सार्वजनिक गरेको छ। संघका अनुसार प्रतियोगितामा विभिन्न संस्थागत तथा व्यक्तिगत सहयोगमार्फत उल्लेख्य रकम संकलन गरिएको थियो।
संस्थागत सहयोगबाट मात्र ५ लाख ३५ हजार ५९३, व्यक्तिगत सहयोगबाट २ लाख ३९ हजार ६९९, खेलाडीको दर्ता वापत मार्फत १ लाख २१ हजार अन्य आम्दानी, वितरण तथा टिकट लगायतका शिर्षकबाट समेत उल्लेख्य रकम आम्दानी भएको जनाएको छ।
खर्चतर्फ, खेल सञ्चालनका लागि खाजा तथा खानामा १३ हजार २१०, खेलकुद सामग्री खरिदमा १८ हजार ६००, प्रत्यक्ष प्रसारणमा १८ हजार साउन्ड सिस्टममा १२ हजार बास्केट, कोसेली तथा अफिसियल ड्रेसमा समेत उल्लेख्य रकम खर्च भएको संघले जनाएको छ। त्यस्तै, कबर्डहल मर्मत, मिस्त्री ज्याला, विद्युत व्यवस्थापन तथा फुटकर खर्चलगायत शीर्षकमा रकम व्यय भएको हो।
समग्रमा, प्रतियोगिताको आम्दानी रु १४ लाख ११ हजार ७९२ र खर्च १० लाख २४ हजार १७ रुपैया भएको छ । प्रतियोगिता संचालनबाट ३ लाख ८७ हजार ७७५ रुपैया बचत भएको संघका जिल्ला अध्यक्ष हुकुमलाल थेबेले जानकारी दिए ।
संघका पदाधिकारीहरूले पारदर्शी हिसाब सार्वजनिक गर्नु प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको प्रमाण भएको भन्दै आगामी दिनमा अझ ठूलो स्तरमा प्रतियोगिता गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
