फिक्कल । इलामको सूर्योदय नगरपालिका–३ का वडाध्यक्ष लोक बहादुर प्रधानले सिमित बजेट भएको कारण जनताको सवै अपेक्षा पुरा गर्न नसकिएको बताए । सन्देश सम्वादमा बोल्दै उनले कृषि र पर्यटनको सम्भावना भएको क्षेत्र भएपनि बजेट पर्याप्त नहुँदा सवै नागरिकको अपेक्षा पुरा गर्न समस्या रहेको बताए । पर्याप्त बजेट नहुँदा वडा क्षेत्रमा माग भएका करिब ५५ प्रतिशत मात्र कृषकको आवश्यकता पुरा गर्न सकिएको उनले बताए ।
सिचाइँका लागि स्विस प्रोजेक्ट अन्र्तगत २ वटा आयोजनाहरु संचालन भएकाले सहज भएको उनले बताए । वडामा प्रदेश सरकारका योजनाहरुको काम तिव्र रुपमा अघि बढेको बताएका छन् । उनले प्रदेश सरकारको लगानीमा बुद्धपार्क, गुरु मंगलदास क्षेत्रको सडक र तीनतले झर्ना विकास भइरहेको बताए । उनले हालसम्म गुरु मंगलदास पर्यटन मार्गमा मात्र करिब १० करोड रुपैयाँको बजेट प्रदेश सरकारबाट आएको बताए ।
सो बजेटले भ्याएसम्म कालोपत्रे गर्ने तयारी गरिएको उनले बताए । वडामा रहेका २२ वटा सडकमध्ये ३ वटा सडकलाई प्राथमिकतामा राखी कालोपत्रे भइरहेको छ भने अन्य सडकमा ग्राभेल, नाली र कच्ची सडक बनाएर गाडी गुड्ने व्यवस्था मिलाइएको छ । वडा क्षेत्रमा रहेको बुद्धपार्क निर्माणको काम सम्पन्न भएपनि विधि विधानका प्रक्रिया पुरा नभएकाले उद्घाटन हुन नसकेको उनले बताए ।
प्रधानले २०८३ सम्ममा बुद्धपार्कको सम्पुर्ण प्रक्रिया पुरा हुने बताए । त्यस्तै तीनतले झर्ना क्षेत्रको विकास पनि प्रदेशकै बजेटबाट भएको उनले बताए । जनताको प्रमुख अपेक्षा सडक निर्माण भएको बताउँदै अहिले नगर गौरवको रुपमा रहेको अलवेदर सडकलाई प्राथमिकता दिएको छ । २०७४ सालदेखि सुरु भएको अलवेदर सडक अहिले वडाको बजेटबाट नगर मार्फत कार्यान्वयन हुँदै आएको छ ।
शिक्षा क्षेत्रमा पनि पहल भएको वडाध्यक्ष प्रधानले बताए । मंगलदास क्षेत्र भित्र रहेको प्रणामी मन्दिरले विद्यालय स्थापना गरेपछि कृषकका छोराछोरीले शिक्षा लिन सहज भएको उनले बताए ।