फिक्कल । सूर्योदय नगरपालिका–९ मा साउन २५ देखि २८ गतेसम्म सम्पन्न विभिन्न टोल विकास संस्थाहरूको साधारण सभाबाट नयाँ नेतृत्व चयन गरिएको छ। सुन्दर गहिरी टोल विकास संस्थाको संयोजकमा रुशा घिमिरे र सचिवमा किरण गौतम चयन भई ९ सदस्यीय टोली गठन भएको छ।
आरिदाङ टोल विकास संस्थाको संयोजकमा उर्मिला राई र सचिवमा खोम घिमिरे, आदर्श टोल विकास संस्थाको संयोजकमा पुर्णिमा राई र सचिवमा देउबिर राई, तथा स्माइल टोल विकास संस्थाको संयोजकमा निमछेकी राई शेर्पा र सचिवमा सोम कुमार राई (सोमकास) चयन भएका छन्। यी सबै संस्थाहरूमा ९–९ सदस्यीय टोली गठन भएको हो।

साधारण सभामा पोषणमैत्री र वातावरणमैत्री वडा घोषणा गर्ने तयारीका साथै टोल विकास संस्थाका काम, कर्तव्य र अधिकारबारे महत्त्वपूर्ण छलफल भएको वडाध्यक्ष देवेन्द्र शर्माले बताए। हालसम्म वडा नम्बर ९ का १३ मध्ये १२ वटा टोल विकास संस्थाको साधारण सभा सम्पन्न भइसकेको छ।
संस्थाहरूमा ७०% भन्दा बढी महिला पदाधिकारी रहेका छन् भने साधारण सभामा महिलाको सहभागिता ८०% पुगेको छ। वडाध्यक्ष शर्माले महिलाको यो सक्रियता गौरवको विषय भएको उल्लेख गर्दै भने, “यो सहभागिताले महिला सशक्तीकरण र वडाको विकासमा महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास लिएको छौँ। वडाको विकासमा सधैँ सहकार्य गर्न तयार छौँ।”