इलाम । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले इलाममा रंगशाला निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्ने आश्वासन दिएका छन् । पाँचथरबाट फर्कने क्रममा इलाम नगरपालिकाका जनप्रतिनिधि एवम सामाजिक व्यक्तित्वहरुसंग भेटघाटमा उनले इलामको ठुलो टुडिखेल र माइभगवती रंगशाला निर्माणमा सहयोग गर्ने आश्वासन दिएका हुन् ।
इलाम नगरपालिकाले ०७९/८० मा ५४ करोड लागतको ठुलो टुडिखेल निर्माणको लागि डिपिआर गरेको वडा नं ४ का वडाध्यक्ष एवम नगर प्रवक्ता नुतनदेव दुलालले जानकारी दिए । उनले डिपिआर पछि आर्थिक बर्ष ०८०/८१ मा सहरी विकास अन्र्तगत ५० लाख बजेट आएपनि खर्च गर्न नसकिएको बताए । उनले माथिल्लो निकायमा नै समस्या भएपछि बजेटबाट काम गर्न नसकेको बताए ।

नगरले २० लाख रुपैया खर्च गरेर डिपिआर बनाएको थियो । त्यस्तै आर्थिक बर्ष ०७६÷७७ बाट निर्माण थालिएको वडा नं १० मा निर्माणाधिन माईभगवती रंगशाला पनि अलपत्र छ । ५० करोड लागत अनुमान गरेर निर्माण थालिएको रंगशाला बजेट अभावका कारण गति लिन सकेको छैन् । ५ करोड २१ लाख रुपैया हालसम्म रंगशालामा खर्च भएको छ । दुवै मैदानको प्रस्ताव पठाइदिए बजेटका लागि आवश्यक समन्वय गर्न आश्वास पाएको दुलालले बताए ।
उनले मन्त्री चौधरीलेले यस बर्ष बजेटमा समावेश गर्न नसकिएपनि आगामी बर्षका बजेटबाट सम्बोधन गर्ने प्रतिवद्धता दिएको बताए । साथै मन्त्री चौधरीले अन्य मन्त्रालयबाट समेत विकास निर्माणका कामका लागि पहल गर्ने आश्वासन दिएको दुलालले बताए ।
.