इलाम । दुर्व्यसनीविरुद्धको सचेतना फैलाउने उद्देश्यका साथ चेतना नाट्य समूह र गाउँको संयुक्त पहलमा शनिबार इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा विशेष संगीतिक कार्यक्रम सम्पन्न भएको छ। गाउँ ले हरेक आईतबार ९ बजे बाट टिकटक लाईभमा गर्दै आएको यो एउटा सन्देश मुलक कार्यक्रम हिजो महेन्द्र रत्न क्याम्पसमा भएको हो ।
नेपाल प्रहरीको साझेदारीमा आयोजित कार्यक्रममा ‘हर प्रहरी गाउँ नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने नारासहित सन्देशमूलक गीत–संगीत र मनोरञ्जनात्मक प्रस्तुति मार्फत समाजलाई सकारात्मक बाटोतर्फ लैजाने प्रेरणादायी संदेश दिइएको थियो। कार्यक्रममा चेतना नाट्य समूह र गाउँ का कलाकारहरुले दुर्व्यसनको असरबारे जनचेतना जगाउने विभिन्न गीत, संगीत पस्किएका थिए।

सो अवसरमा महेन्द्र रत्न बहुमुखी क्याम्पस, इलामका प्रमुख गंगाराम पौडेल, इलाम–६ का वडा अध्यक्ष मदन श्रेष्ठ र इलाम–७ का वडा अध्यक्ष नरेश श्रेष्ठले आफ्नो-आफ्नो क्षेत्रबाट दुर्व्यसनी नियन्त्रणका लागि खेल्न सकिने भूमिकाबारे धारणा राखेका थिए। उनीहरूले समाज, परिवार र शैक्षिक संस्थाहरूले मिलेर युवा पुस्तालाई सही बाटोमा डोर्याउनुपर्ने आवश्यकता औंल्याए।