Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

भुटान विरुद्ध अग्रता जोगाउन नसक्दा नेपाललाई धक्का

भुटान विरुद्ध अग्रता जोगाउन नसक्दा नेपाललाई धक्का

  • सन्देश सम्बाददाता
  • बुधबार, साउन २२ २०८२


भुटान विरुद्ध अग्रता जोगाउन नसक्दा नेपाललाई धक्का

इलाम । एएफसी महिला यु–२० एसियन कप छनोटमा घरेलु टोली भुटानलाई फराकिलो अन्तरले हराउँदै आफ्नो स्थिति मजबुत बनाउने नेपालको लक्ष्यमा धक्का लागेको छ। बंगलादेशको राजधानी ढाकामा गत महिना मात्रै सम्पन्न साफ महिला यु–२० च्याम्पियनसिपका दुई खेलमा ६–१ र ८–० को फराकिलो जित हात पारेको नेपाल त्यही नतिजा दोहोर्‍याउन चाहन्थ्यो।

तर, निकै फितलो खेल पस्किएको नेपाललाई भुटानलले १–१ को बराबरीमा रोकेको हो। यो उमेर समूहमा भुटानले पहिलोपल्ट नेपाललाई बराबरीमा रोक्न सफल भएको छ।

यसअघिका तीन खेलमै नेपालले फराकिलो जित हात पारेको थियो। यसपल्ट पनि नेपाल एक समय भुटानमाथि हाबी भएको थियो। तर, प्रतियोगिताकै सबैभन्दा फास्टेस गोल गरे पनि अग्रता जोगाउन नसक्दा नेपालले भुटानसँग अंक बाँड्न पर्‍यो। योसँगै समूह ए मा साबिक विजेता उत्तर कोरिया ३ अंकसहित शीर्ष स्थानमा यथावत छ।

कोरियाले बुधबार नै भएको पहिलो खेलमा साउदी अरबमाथि १५-० को फराकिलो जित हात पारेको थियो। नेपाल र भुटानले भने समान एक अंक बटुलेका छन्। नेपालका लागि सेनु परियारले गोल गरिन्।

भुटानकी केल्जेङ वाङ्जोमले बराबरी गोल फर्काइन्। खेलको ४० सेकेन्डमै नेपालले सेनुको गोलमार्फत सुरुआती अग्रता लिएको थियो। सुक्रिया मियाको लामो क्रसलाई रोक्न भुटानी गोलकिपर अगाडि बढेकी थिइन्। तर, उनी चुक्दा सेनुले सहजै गोल गरिन्। यो प्रतियोगिताकै सबैभन्दा कम समयमा भएको गोल हो। तर, १८औं मिनेटमा भुटान खेलमा फर्कियो।

नाम्सेल वाङ्जोमको क्रसमा पेनाल्टी बक्सनजिकै नेपाली डिफेन्डरलाई बिट गर्दै केल्जेङले प्रहार गरेको बल खाली पोस्टमा गोल भयो।  उनले उक्त बल प्रहार गर्नुअगाडि नै नेपाली गोलकिपर लिला जोशी आफ्नो क्षेत्रबाट निकै पर आइसकेकी थिइन्।

प्रतिक्रिया
सम्बन्धित समाचार