इलाम । जापानको प्रमुख केन्द्र हिरोशिमा सहर तहसनहस भएको आज ८० बर्ष पुग्यो । त्यो भयानक घटना जापानीहरुको मनमस्तिष्कमा खिल बनेर विझिरहन्छ । ६ अगष्ट १९४५ दिन एनोला–गे नामक बी–२९ बमवर्षक विमान टिनियन टापुबाट उत्तर–पश्चिमतर्फ जापानतिर अघि बढ्यो । दक्षिणपश्चिम होन्स टापुको हिरोशिमा सहर उसको प्रमुख लक्ष्य थियो । करिब ३ लाख मानिसको बसोवास रहेको हिरोशिमा जापानको मुख्य सैन्य केन्द्र समेत थियो । जहाँ करिब ४३ हजार सैनिक तैनाथ थिए ।
५०९औँ कम्पोजिट ग्रुपका कमाण्डर कर्नेल पॉल टिब्बेट्सद्वारा संचालित उक्त विमान सुरुमा स्वचालित पाइलटमा कम उचाईमा उड्दै थियो । तर लक्ष्य क्षेत्रमा पुग्नेबित्तिकै ३१ हजार फिट उचाइ लिन पुग्यो । करिब बिहान ८ः१५ बजे, हिरोशिमा समय अनुसार, एनोला–गे ले “लिटल ब्वाइ” नामक ९,७०० पाउण्ड तौलको युरेनियम बम हिरोसिमा शहरमाथि खसाल्यो । टिब्बेट्सले तत्काल सम्भावित धक्काबाट जोगिन विमानलाई तल झारे । ४३ सेकेन्डपछि, बम शहरमाथि विस्फोट हुँदा बिहानको आकाश उज्यालो बन्यो । विस्फोट ठीक त्यही परेड मैदानमाथि भएको थियो, जहाँ जापानी सैनिकहरू कसरत गरिरहेका थिए ।

११.५ माइल टाढा पुगेको एनोला–गे पनि विस्फोटको धक्काले हल्लिएको थियो । सुरुमा टिब्बेट्सलाई लाग्यो विमान–विरोधी तोपको आक्रमणमा पारिएको छ । तर दोस्रो धक्का (भुइँबाट फर्किएको तरंग) लागेपछि, चालक दलले पछाडि फर्केर हिरोशिमा हेरे । टिब्बेट्सले सम्झिए, “शहर त्यो भयानक बादलले ढाकिएको थियो उम्लँदै, चर्कँदै, भयानक र अविश्वसनीय रूपमा” विस्फोटको शक्ति पछि अनुमान गर्दा करिब १५ किलोटन थियो । विस्फोट हुनु केही क्षणअघि हिरोसिमामा शान्त र घाम लागेको सोमबारको बिहान थियो । बिहान ८ः१५ बज्दा शहर गतिविधिले भरिएको थियो—सैनिकहरू बिहानको व्यायाम गर्दै थिए, पैदल वा साइकलमा यात्रा गर्नेहरू बाटोमा थिए, महिलाहरू र बालबालिकाहरूको समूहहरू बाहिर निस्केर आगो फैलिन नदिने खाल्डा सफा गरिरहेका थिए ।
विस्फोट नजिकै रहेका मानिसहरू तत्काल मरे, उनका शरीरहरू कालो खरानीमा परिणत भए । वरिपरिका चराहरू बीच आकाशमै जलेर खस्न थाले, र कागजजस्ता सुख्खा तथा दहनशील वस्तुहरू विस्फोटको केन्द्रदेखि करिब ६,४०० फिट टाढासम्म पनि जलिरहेका थिए । बाहिर रहेका जीवित बचेका मानिसहरूले सामान्यतया वर्णन गरेका छन— त्यो उज्यालोले एक्कासी अन्धा बनायो र त्यससँगै असह्य गर्मीको लहर आइपुग्यो । (विकिरणको असर सामान्यतया तुरुन्तै देखिँदैन ।) विस्फोटको धक्काले नजिकका मानिसहरूलाई तुरुन्तै जमिनमा ढालिदियो ।

घरभित्र रहेका मानिसहरू प्रायः उज्यालोले जलाउने घाउबाट बच्न सफल भए, तर फुटेका झ्यालका सिसाबाट बनेको टुक्राले लगभग सबै कोठा भरियो, र बलिया संरचनाबाहेकका सबै घरहरू ढले । केही मिनेटभित्रै विस्फोटको केन्द्रबाट आधा माइल वा कम दूरीमा रहेका १० मध्ये ९ जना मानिसको मृत्यु भयो । आगो निभिसकेपछि पनि बाहिरबाट राहत आउन निकै ढिलो भयो । आक्रमणपछिका घण्टौसम्म जापानी सरकारले के भएको थियो भनेर पनि ठीकसँग बुझ्न सकेको थिएनन् । बिहान ८ः१६ बजेपछि हिरोशिमासँगको सबै रेडियो र टेलिग्राफ सम्पर्क एक्कासी बन्द भएका थिए । केही अस्पष्ट रिपोर्टहरू आउन थाले शहरमा ठूलो विस्फोट भएको जस्तो सुनिन्थ्यो । तर जापानी उच्च सैन्य कमाण्डलाई विश्वास थियो कि हिरोशिमामा कुनै ठूलो हवाई आक्रमण भएको थिएन, न त त्यहाँ ठूलो विस्फोटक गोला थुपारिएको थियो ।
अन्ततः, एक जापानी सैनिक अधिकृतलाई विमानमार्फत शहरको हवाई निरीक्षण गर्न पठाइयो । जब उनी करिब १०० माइल टाढा थिए, उनीले एक विशाल धुवाँको मुस्लो देखे जुन शहरमाथि छाएको थियो । ठ्याक्कै के भएको थियो भन्ने पुष्टि भने अमेरिकाले आक्रमण भएको १६ घण्टा पछि मात्र दियो—जब राष्ट्रपति ह्यारी ट्रम्यानले अमेरिकाले हिरोशिमा शहरमा “एक नयाँ प्रकारको बम” — अर्थात् “परमाणु बम“ प्रयोग गरेको घोषणा गरे । बाहिरबाट उद्धारकर्मीहरू क्रमशः आइपुग्न थाले र स्थितिमा केही स्थिरता आउन थाल्यो ।
बचेका क्षेत्रमा बिजुली ७ अगस्टमा पुनः सञ्चालित भयो, र रेल सेवा पनि केही सीमित रूपमा अर्को दिनबाट सुरु गरियो । तर केही दिनपछि, स्वास्थ्यकर्मीहरूले बाँचेकाहरूमा विकिरण रोग (radiation sickness) का प्रारम्भिक लक्षण देख्न थालेको बताए । कसै–कसैलाई सुरुमा निको भइरहेको देखिए तापनि, उनीहरू अचानक अज्ञात रोगले फेरि कमजोर हुँदै मृत्यु हुन थाल्यो । विकिरणबाट मृत्यु दर ३ देखि ४ हप्ता पछि उच्च बिन्दुमा पुग्यो, र ७ देखि ८ हप्तासम्म पनि मृत्युदर उच्च नै रह्यो । दीर्घकालीन असरहरू क्यान्सरजस्ता रोगहरूको जोखिम र जीवित बचेका मानिसहरूको जीवनभर नै रहयो ।

हिरोशिमामा कति मानिसले ज्यान गुमाए भन्ने यथार्थमा कसैले कहिल्यै पत्ता लगाउन सक्ने छैन । अनुमान अनुसार झण्डै ७० हजार मानिसहरू प्रारम्भिक विस्फोट, ताप र विकिरणका कारण मृत्यु हुन पुगेको थियो । यीमध्ये लगभग २० जना अमेरिकी बमवर्षक पाइलटहरू पनि थिए, जो हिरोशिमामा बन्दी बनाइएका थिए । १९४५ को अन्त्यसम्म, विकिरण र बाँकी प्रभावहरूका कारण मृतक संख्या १ लाख नाघेको अनुमान छ । पाँच वर्षको अवधिमा यो संख्या २ लाखसम्म पुगेको वा नाघेको हुनसक्छ, किनकि क्यान्सर र अन्य दीर्घकालीन रोगहरूले जनजीवन तहसनहस बनाएको थियो ।
अमेरिकाको राजधानी वाशिंगटन डीसिको समय अनुसार बिहान ११ बजे, राष्ट्रपति ट्रम्यानको पूर्व तयारी गरिएको वक्तव्य रेडियोमा प्रसारण भयो । उक्त वक्तव्यमा भनिएको थियोः “संयुक्त राज्य अमेरिकाले जापानको हिरोशिमा शहरमा एक नयाँ प्रकारको बम खसालेको छ—परमाणु बम । यदि जापानले अझै पनि पोट्सडाम घोषणाअनुसार बिना शर्त आत्मसमर्पण गरेन भने, हामीले थप विनाशकारी परिणामसहित अन्य शहरहरूलाई आक्रमण गर्नेछौं ।” २ दिनपछि, अगस्ट ८ मा, सोभियत संघले जापानमाथि युद्ध घोषणा ग¥यो र मान्चुरियामा जापानी सेनामाथि आक्रमण ग¥यो । यसले अमेरिकाको त्यो आशा तोड्यो कि जापानले रूस युद्धमा प्रवेश गर्नु अघि नै आत्मसमर्पण गर्नेछ ।
अगस्ट ९ तारिखमा अमेरिकी विमानहरू जापानभरि पर्चा छरिरहेका थिए, जसमा लेखिएको थियोः “हामीसँग मानवले कहिल्यै बनाएको सबैभन्दा विध्वंसक बम छ । हाम्रा एक–एक परमाणु बमहरू २,००० बी–२९ विमानहरूले एकसाथ बम खसालेजत्तिकै शक्तिशाली छन् । यो सच्चा तथ्य हो, हामी तपाईंको मातृभूमिमा यो हतियारको प्रयोग गरिरहेछौँ । यदि तपाईंलाई अझै शंका छ भने, हिरोशिमामा के भयो सोध्नुहोस् ।” त्योबीचमा कर्नेल टिब्बेट्सको समूह अर्को आक्रमणको प्रतीक्षामा थियो—जब मौसम खुल्नेबित्तिकै, “फ्याट म्यान” भनिने प्लुटोनियम बम नागासाकी शहरमा खसालिनु तय भइसकेको थियो ।
विभिन्न अन्तर्राष्ट्रिय मिडियाको सहयोगमा