फिक्कल । सूर्योदय नगरपालिकाको आर्थिक बर्ष २०८२/०८३ को बार्षिक नीति ,बजेट तथा कार्यक्रम एक कार्यक्रमका बिच सोमबार सार्वजनिकीकरण गरीएको छ । नगरको आयोजनामा फिक्कल माध्यमिक बिद्यालयको प्राङ्गडमा एक समारोहको आयोजना गरी बार्षिक नीति ,बजेट तथा कार्यक्रम सार्वजनिकीकरण गरिएको हो ।
नगर प्रमुख रण बहादुर राईको अध्यक्षतामा सम्पन्न सार्वजनीकिकरण कार्यक्रममा प्रतिनिधिसभा सभा सदस्य महेश बस्नेत , ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरीबाबु महर्जन लगायतले संयुक्त रुपमा बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरे । बजेट नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य बस्नेतले जनताको नजिकको सरकारको रुपमा रहेको स्थानीय सरकारले जनताको अपेक्षा अनुसार काम गर्नु पर्ने बताए ।
उनले तीनै तहका सरकार बिकास निर्माणका काममा हातेमालो गरेर लागे पनि स्रोत साधनको कमीका कारण जनताको अपेक्षा अनुसार काम गर्न नसकेको जानकारी दिए । प्रतिनिधि सभा सदस्य बस्नेतले संघीय सांसदले अहिले जनताका घरदैलोमा पुग्दा आलोचना मात्र खेप्नुपरेको बताए । उनले संघीय सरकारले साना योजना कटौती गर्दा र सांसद बिकास कोषको रकम सरकारले रोक्का गर्दा आफुहरुले जनता माझमा जादा आलोचित बन्नु परेको बताए ।
बस्नेतले इलाम जिल्लाको पूर्वी क्षेत्र पर्यटनको हव भएकाले पर्यटन क्षेत्र र बिकास निर्माणका क्षेत्रमा बिभिन्न काम भरहेको र आगामी दिनमा तीनै तहका सरकारको समन्वयमा त्यसलाई निरन्तरता दिन लागि पर्ने बताए । कार्यक्रममा ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरीबाबु महर्जनले सूर्योदय नगरपालिकाले गरेका असल अभ्यास ललितपुर महानगरले अनुसरण गर्ने बताए । उनले प्राकृतिक रुपमा सुन्दर रहेको सूर्योदय नगरपालिकाले गर्दै आएका असल कामलाई आगामी बर्ष देखि ललितपुर महानगरले कार्यान्वयन गर्ने जानकारी दिए ।
नगर प्रमुख महर्जनले खरिद ऐनका कारण स्थानीय पालिकालाई काम गर्न समस्या पर्ने गरेको बताए । उनले ठेक्का रकम भन्दा धरै कममा कबोल हुने प्रक्रियाको अन्त्य नभए सम्म स्थानीय पालिकाहरुलाई काम गर्न समस्या भइरहने र गुणस्तरीय कामको प्रतिफल पाउन नसकिने बताए । संविधानसभा सदस्य सुर्यवाला राईले सूर्योदय नगरपालिकाले केवल आन्तरिक–स्थानीय–क्षेत्रीय दृष्टिले मात्र सीमित नभई विश्वभर आर्कषित हुने लक्ष्य तय गरेको बताएका छन् ।

उनले पालिकाले दिर्घकालिन विकास लक्ष्यका ७० वटा उद्देश्य र १६९ सहायक कार्यक्रम पूरा गर्ने दीर्घकालीन योजनाको बाटो अघि बढाइरहेको उल्लेख गरे । प्रदेशसभा सदस्य खिनु लङ्बा लिम्बुले सीमा क्षेत्रमा सडक विस्तारमा चुनौतिहरू आए पनि समाधान प्राथमिकतामा राखिएको बताइन् । उनले भूगोलकी विकटतालाई मध्यनजर गरी सडक कटानमा समस्या निम्त्याउने प्रकृतिक विपत्तिहरूको समाधान पनि बजेटमार्फत अघि बढाइएको बताइन ।
उनले खुल्ला सिमाका कारण लागुऔषध दुव्र्यसनी बढेकाले निमूल पार्न एकजुट हुन आग्रह समेत गरिन् । जिल्ला समन्वय समिति इलामका प्रमुख जय प्रकाश राईले सुशासन, समृद्धि र पारदर्शी विकासका लागि कृषि र पर्यटन क्षेत्रमा समन्वय आवश्यक देखिने बताए । उनले सिमित बजेटबाट जनताको अपेक्षा पुरा गर्नुपर्ने अवस्था रहेको बताए ।
नेपाली कांग्रेस सूर्योदयका उपसभापति रमेश प्रधानले सबैको सहकार्यमा आएको नीति कार्यक्रम उत्कृष्ट देखिएको बताए । उनले बजेट निर्माणका क्रममा सबै राजनीतिक दलहरुसंग छलफल र समन्वय भएको समेत उल्लेख गरे । उनले कृषि क्षेत्रमा वितरण गरिएको उपकरण गुणस्तरिय नभएको गुनासो आएकाले यस बिषयमा नगरले चासो राख्न सुझाव दिए ।
नेकपा एमाले नगर अध्यक्ष एवम पुर्व नगर उपप्रमुख दुर्गादेवी भट्टराईले पर्यटकीय नगर संरचना कृषि र संस्कृति संयोजनबाट समृद्ध बन्न सक्ने बताइन् । उनले पर्यटकीय नगरी भएपनि नगरपालिकाले तथ्यांक र पर्यटकको संख्या संकलन गर्ने कार्यालय वा संरचना नै बनाउन नसकेको गुनासो राखिन् । उनले पर्यटकीय नगरी घोषणा गरेर मात्र नहुने त्यसलाई कार्यान्वयन गरेर अघि बढ्न कार्यक्रमहरु आवश्यक देखिएको बताइन् ।
उनले अनुदान वितरण प्रभावकारी हुन नसकेको बताउँदै लक्षित अल्पसंख्यक वर्गसम्म पहुँच नभएको बताइन् । नेकपा माओवादी केन्द्र सूर्योदय इन्चार्ज प्रविण तिमसिनाले सूर्योदय नगरपालिकामा श्रम श्रोत पुँजीको अधिकतम उपभोग भएको देखिएको बताए । उनले त्यस भित्र संस्कृतिको पछयौरी थप्न सुझाव दिए । तिमसिनाले बालमैत्री, प्रकृतिमैत्री श्रममैत्री भएर अघि बढेपनि स्थानीय उत्पादन उपभोगमा तादम्यता मिलेको नदेखिएको बताए ।
गाउँमा आमा, हजुरआमा कार्कीहरुले बनाएको तिते फाइभ स्टारमा विर्यानी भनेर विक्री हुने गरेको उल्लेख गर्दै गाउँमा कुरकुर लेज जस्ता प्याकेजिङ गरेको चीजहरुलाई उचित व्यवस्थापन गर्न सुझाव दिए । उनले गाउँको स्थानीय उत्पादन उपभोग गर्न सके बजारीकरण ४० प्रतिशत निर्माण गर्न सकिने बताए ।
नेकपा एकिकृत समाजवादीका अध्यक्ष कमल गदालले कृषिमा गरेको लगानीले प्रतिफल देखिएको बताए । उनले तराईबाट ल्याउने पराललाई नगरले किसानहरुलाई वितरण गरेको नेपियरले प्रतिस्थापन गरेको बताए । उनले बिषयगत समितिले खटेर पालिकालाई उदाहरणीय बनाएको उल्लेख गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति महेश गदालले सिमिति बजेटबाट १४ वटै वडामा समतामुलक ढंगले विकास गर्न सुझाव दिए । उनले भारतबाट आउने कृषिजन्य बस्तुलाई प्रतिबन्ध गरि स्थानी उत्पादनलाई प्रोत्साहन गर्न आग्रह गरे ।
जसपाका प्रदेश उपाध्यक्ष लिला बहादुर सुनुवारले सरकारी विद्यालयमा नगरको ध्यान कम पुगेको गुनासो राखे । उनले तामाङ जातिको संस्कृति संरक्षणमा डम्फु सहयोग भए जस्तै नगरका अन्य जातजातिलाई समेत समान दृष्टिले हेर्न सुझाव दिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका राजकुमार कट्टेलले हालसम्म नगरबाट राम्रो कार्य सम्पादन भएकाले समय समयमा अन्य दलहरुसंग समेत परामर्श गर्न सुझाव दिए ।
कार्यक्रममा सूर्योदयका नगर प्रमुख रण बहादुर राईले सूर्योदयले आर्थिक बर्ष २०८२÷०८३ का लागि १७ औं नगर सभाले पारित गरेको बजेट , नीति तथा कार्यक्रम बारे जानकारी दिए । उनले दिगो बिकासका लक्ष्यलाई स्थानीयकरण गर्दै शिक्षा, स्वास्थ्य , कृषि पर्यटन र भौतिक पूर्वाधारका क्षेत्रमा नगरले प्राथमिक्ता दिएर बजेट निर्माण गरेको जानकारी दिए ।
कार्यक्रममा स्वागत गर्दै उपप्रमुख दुर्गाकुमार बरालले स्थानीय सरकार जनताको नजिकको सरकार स्थानीय सरकारलाई प्राप्त अधिकारबाट सिमित श्रोतको उच्चतम प्रयोग गर्दै प्राथमिकताका आधारमा प्रभावकारी कार्यान्वय गरि जनतालाई अनुभुत गराउन क्रियाशिल रहेको बताए । विगतका बर्षहरुबाट हुँदै आएका असल अभ्यासलाई सस्थागत गर्दै नविनतम क्रियाकलापमा विशेष जोड दिँदै नगरबासीको समुन्नतीमा बजेट केन्द्रित रहेको बताए ।
सूर्योदय नगरपालिकाले आर्थिक बर्ष २०८२÷०८३ का लागि एक अर्व ४० करोड बढीको बजेट पारित गरेको थियो । नगरले बर्षेनी बार्षिक नीति ,बजेट तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रमको अवसरमा बिभिन्न कार्यक्रम गर्दै आएको छ ।
पत्रकार मनोज अधिकारी सहित १६ बिधामा १९ सम्मानित
कार्यक्रमको अवसरमा नगर क्षेत्रमा उत्कृष्ठ काम गर्ने ब्यक्ति तथा संस्था गरी १६ बिधामा सम्मान गरीएको छ । नगर क्षेत्रमा रहि उत्कृष्ठ कार्य गर्ने ब्यक्ति तथा संस्थालाई बार्षिक नीति ,बजेट तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रमका अवसरमा १६ बिधाका ब्यक्ति र संघ संस्था गरी १९ जनालाई सम्मानित तथा पुरस्कृत गरिएको हो ।

सम्मानित तथा पुरस्कृत हुनेमा पत्रकार मनोज अधिकारी सहित ब्यक्ति तथा संस्था छन । सम्मानित हुनेहरुमा सामाजिक क्षेत्रतर्फ डा. बिवेक कट्टेल, भाषा, कला साहित्य संगीत तर्फ भुपेन्द्र राई, कर्मचारी तर्फ योजना अधिकृत खेमराज राई , लेखा अधिकृत सिर्जना बिष्ट, उत्कृष्ट महिला उद्यमी तर्फ संगीता कामी , उत्कृष्ट पुरुष उद्यमी तर्फ शरण थुलुङ, उत्कृष्ट किसान तर्फ सीतादेवी अधिकारी, अम्बिटार टोल बिकास संस्था , बिद्यालय तर्फ सूनप– १ को महेन्द्रोदय आधारभूत बिद्यालय रहेको छ ।
त्यस्तै फिक्कल माविका गणित शिक्षक भुपेन्द्र अधिकारी , बिज्ञान शिक्षकतर्फ दिपेन्द्र आचार्य , बिद्यालय ब्यवस्थापन समिति तर्फ केराबारी आधारभुत बिद्यालय, बिद्यार्थी तर्फ नामसाम राई र आशिका राई रहेका छन । यस्तै खेलकुद क्षेत्रमा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष खगेन्द्र बास्तोला रहेका छन । पर्यटन क्षेत्रमा होटल हिल टावर( अन्तु) न्यायिक समिति तर्फ लेखनाथ दाहाल , स्वास्थ्यमा बिना लाप्चा रहेका छन । कार्यक्रममा प्रतिनिधि सभा सदस्य महेश बस्नेत ,ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरीबाबु महर्जन र नगर प्रमुख रण बहादुर राईले पुरस्कार र सम्मानपत्र बितरण गरे ।