इलाम – इलाम नगरपालिका वडा नं. ९ अन्तर्गत पर्ने पुरानो सनिश्चरे सडक खण्डमा पर्ने इलाम–भञ्ज्याङ सडकको कालोपत्रे कार्य तीव्र गतिमा अघि बढाइएको छ । आर्थिक वर्ष २०८२/८३ को वडाको बजेटबाट नै सो सडकखण्डको कालोपत्रे कार्य सम्पन्न गरिने भएको हो ।
करिब ५ किलोमिटर लम्बाईको यस सडकखण्डमध्ये हालसम्म करिब आधा किलोमिटर मात्र कालोपत्रे गर्न बाँकी रहेको छ। बाँकी काम पनि यही आर्थिक वर्षभित्र सम्पन्न गर्ने तयारी भइरहेको वडाध्यक्ष गोपाल चौहानले जानकारी दिए । उनका अनुसार काम पूरा भएपछि इलाम–भञ्ज्याङ हुँदै झापा जाने मेची करिडोर सडकसँग सो सडक सिधा जोडिनेछ। यसले इलाम तिनकेनी जिरो हुँदै सदरमुकाम इलाम बजार पुग्ने दूरी थप छोट्याउने छ ।

सडक कालोपत्रेपछि यात्रुहरूले सहज र छिटो यात्रा गर्न पाउने भएकाले समय र यातायात खर्च दुवै बचत हुने छ । साथै यसले स्थानीयवासीका आर्थिक तथा सामाजिक जीवनस्तरमा समेत सकारात्मक प्रभाव पार्ने वडाध्यक्ष चौहानले बताए । उनका अनुसार यस सडकको स्तरोन्नतिले कृषि उत्पादन, व्यापार तथा पर्यटक आवागमनलाई समेत सहज बनाउनेछ ।
स्थानीय स्तरमै बजेट व्यवस्थापन गरेर सडक विकासलाई प्राथमिकता दिने चौहानको यो पहललाई स्थानीयवासीले खुलेर स्वागत गरेका छन् । उनीहरूका अनुसार सडक सुधारले गाउँमा बसोबास गर्ने जनताको दैनिक जीवन सहज बनाउनका साथै ग्रामीण भेगमा उत्पादन भएका कृषि उपज सदरमुकामसम्म पु¥याउन सहज हुनेछ ।
इलाम जिल्लाको भौगोलिक विशेषताका कारण यातायात सहज बनाउन सडक विस्तार र कालोपत्रे कार्यलाई महत्वपूर्ण मानिँदै आएको छ । वडास्तरमै सक्रियता देखाउन थालिएको कदम दीर्घकालीन रूपमा इलामको पूर्वाधार विकास र समग्र आर्थिक वृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।