इलाम । माओवादी केन्द्र निकट वाइसिएल इलामले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । खेतीपातीको समय सुरु भएपनि किसानले रसायनिक मलको अभाव भोग्दै आएकाले दिर्घकालिन समाधान खोज्न पनि प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल मार्फत सरकार समक्ष ध्यानाकर्षण गराएको हो ।
वाइसिएल इलाम इन्चार्ज राजु लोक्ताम, जिल्ला अध्यक्ष डिवन राई लगायतको टोलीले किसानको समस्याको बारेमा ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा लेखिएको छ ‘‘श्रम तथा उत्पादनमा वाइसिएल’ अभियान को साथ हाम्रो संगठन देशव्यापी किसानहरुको माझमा निरन्तर गइरहेको छ । देशभरिका कृषकहरू अहिले गम्भीर समस्याको सामना गरिरहेका छन् । मध्य वर्षा याम सुरु भइसक्दा समेत रसायनिक मलको चरम अभावका कारण किसानहरू खेती गर्नबाट बञ्चित छन् । सरकारले दिएको पटक–पटकको आश्वासनपछि पनि मल आपूर्ति सहज र सरल भएको छैन । यो अवस्था योजनाबद्ध रुपमा सिर्जना गरिएको छ, जसले कृषकहरुलाइ प्रत्यक्ष प्रभावित पारेको छ ।’

किसानहरूले मल नपाएर खेत बाँझो राख्नुपर्ने अवस्था सिर्जना हुनोले राष्ट्रिय आत्मनिर्भरता र खाद्य सुरक्षामाथी प्रहार गरेको वाइसिएलको ठहर छ । ज्ञापनपत्रमा थप लेखिएको छ ‘सरकारले समयमा मल आपूर्ति गर्न नसक्ने, पहुँचको आधारमा असमान वितरण गर्ने, भित्र–भित्रै कमिसनको चक्करमा दलाल तथा विचौलियाहरु मार्फत कालाबजारी गर्ने जस्ता गम्भीर प्रकृतिको समस्याले लाखौं किसानहरु आक्रान्त छन ।’
वाइसिएलले कालोबजारी अबिलम्ब रोकी रसायनिक मल आपुर्ती सुचारु गर्न र वितरण प्रणाली न्यायोचित गर्न माग राखेको छ । साथै समस्याबाट दिर्घकालिन समाधान खोज्न पनि सरकार समक्ष ध्यानाकर्षण गरेको छ । सरकारले देशभर मल आपूर्ति सुनिश्चित नगरिए अभियानलाई देशव्यापी बनाउनेछ र आन्दोलनको रूप दिने बताएको छ ।
