Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

पानी कम परेको कारण इलाममा ६१ प्रतिशत रोपाई

पानी कम परेको कारण इलाममा ६१ प्रतिशत रोपाई

  • सन्देश सम्बाददाता
  • शुक्रबार, साउन १० २०८२


पानी कम परेको कारण इलाममा ६१ प्रतिशत रोपाई

इलाम । इलामका यस बर्ष ६१ प्रतिशत मात्र रोपाई भएको छ । कोशी प्रदेशमा मनसुन कमजोर हुँदा धान रोपाइँ प्रभावित भएको हो । कृषि विकास निर्देशनालय कोशी प्रदेशले सार्वजनिक गरेको तथ्यांक अनुसार इलाममा कुल धान लगाइने ११ हजार ६२.६४ हेक्टर मध्ये ६ हजार ७ सय ४८.२१ हेक्टरमा मात्र धान रोपाइएको छ । निर्देशनालयको प्रतिवेदनमा उल्लेख गरिएको कैफियतमा रोपाइँ घट्नुको मुख्य कारण ‘पानी कम परेर’ उल्लेख छ । सोलुखुम्बु र खोटाङ बाहेक अन्य जिल्लामा ८० प्रतिशत भन्दा कम रोपाई गरिएको छ ।

आकाशे पानीको भरमा खेती गर्ने किसानहरूका लागि पर्याप्त वर्षा नहुनु प्रमुख चुनौती बनेको छ । जसका कारण प्रदेशभरिको रोपाइँ गत वर्षको तुलनामा २१ प्रतिशतले घटेको छ । कृषि विकास निर्देशनालय कोशी प्रदेशले साउन ४ गते सार्वजनिक गरेको तथ्याङ्क अनुसार प्रदेशमा हालसम्म जम्मा ६१.७९ प्रतिशत मात्रै रोपाइँ भएको छ । गत वर्ष यही समयमा ८२.६८ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको थियो । इलाम सहित ताप्लेजुङ, सङ्खुवासभा, भोजपुर, तेह्रथुम, धनकुटा, उदयपुर, ओखलढुङ्गा, झापा र सुनसरी लगायतका अधिकांश जिल्लामा रोपाइँ कम हुनुको कारण ‘पानी कम परेर’ उल्लेख छ ।

तराईका धान उत्पादनका मुख्य पकेट क्षेत्र मानिने झापा, मोरङ र सुनसरीमा समेत पर्याप्त वर्षा नहुँदा खेतहरू बाँझै छन् । मोरङमा जम्मा ५० प्रतिशत र झापामा ६८.६० प्रतिशत मात्र रोपाइँ भएको छ । जुन चिन्ताजनक अवस्था हो । समयमा पानी परेका जिल्लाहरूमा भने रोपाइँको अवस्था उत्कृष्ट छ । सोलुखुम्बुमा ८४.३१ प्रतिशत र खोटाङमा ८१.३० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यी जिल्लाहरूमा समयमा वर्षा भएकाले रोपाइँ सन्तोषजनक रहेको निर्देशनालयले जनाएको छ ।

उच्च पहाडी जिल्ला ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बुमा औसत ५०.४२ प्रतिशत मात्र रोपाइँ भएको छ । ताप्लेजुङमा प्रदेशकै सबैभन्दा कम ४३.७३ प्रतिशत मात्रै रोपाइँ भएको छ । मध्य पहाडमा ६४.५५ प्रतिशत र तराईमा ६१.७३ प्रतिशत रोपाइँ भएको छ । तथ्याङ्क अनुसार प्रदेशमा कुल २ लाख ७६ हजार ३८६ हेक्टर धान खेतीयोग्य जमिनमध्ये १ लाख ७० हजार ७९० हेक्टरमा मात्र रोपाइँ भएको छ । अबका केही दिनभित्र मनसुन सक्रिय भई पर्याप्त वर्षा नभएमा प्रदेशको खाद्य सुरक्षा र कृषि अर्थतन्त्रमा समेत नकारात्मक असर पर्ने निर्देशनालयका प्रमुख प्रकाश डाँगीले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार