इलाम । प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको पर्यटन प्रवर्द्धनमा सरकारले लगानी गरिरहेको बताएका छन्। इलामबाट निर्वाचित सांसद महेश बस्नेतले इलामका पर्यटकीय क्षेत्रमा के कस्ता कार्यक्रम हुन सक्छन् भन्ने प्रश्न गरेपछि ओलीले यसको जवाफ दिँदै यस्तो बताएका हुन्।
बुधबार संसद्मा प्रश्नोत्तर कार्यक्रममा बस्नेतले इलामको पर्यटनका बारेमा आफ्नो प्रश्न प्रधानमन्त्रीलाई राखे । ‘इलाम जिल्लाको पूर्वी सीमावर्ती क्षेत्र सन्दकपुर, श्रीअन्तु, जौबारी, तुम्लिङ, आहालटार, छिन्तापु, पशुपतिनगर, गुफापातल महत्वपूर्ण पर्यटकीय गन्तव्यहरू हुन्। यी क्षेत्रमा कृषिजन्य उत्पादन तथा जडिबुटी उत्पादन गर्ने अर्को महत्वपूर्ण क्षेत्रसमेत हो, बस्नेतले सोधे, ‘ सन्दकपुरमा मात्र वार्षिक ३ लाखभन्दा बढी भारतीय पर्यटकहरू आउने गरेका छन् भने श्रीअन्तु लगायत अन्य क्षेत्रमा लाखौँ पर्यटकहरू आउँछन्। तर यस आवको बजेट तथा कार्यक्रममा यी क्षेत्रहरू सम्बोधन गर्न छुट भएको छ। यी क्षेत्रहरूलाई सम्बोधन गर्न सरकारले के कस्ता कार्यक्रम सञ्चालन गर्न सक्छ ?’
जवाफमा प्रधानमन्त्री ओलीले भने, ‘पर्यटन प्रवर्द्धन तथा उत्पादन प्रवर्द्धनका लागि चालु आर्थिक वर्षमा बजेट तथा कार्यक्रम हुँदै नभएका होइनन्। सुम्निमा पारुहाङ स्मृति पार्कसहित किराँत म्युजियमका लागि रु ३ करोड बजेट विनियोजन गरिएकोले यसबाट त्यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा उल्लेख्य सहयोग पुग्ने अपेक्षा गरिएको छ। सुर्योदय नगरपालिकामा सघन शहरी विकास कार्यक्रम कार्यान्वयनमा रहेको छ। फिक्कल-श्रीअन्तु बौद्धधाम सडकको मर्मत सम्भार कार्यक्रम, सन्दकपुर बृहद खानेपानी आयोजना, इलाम-माइपोखरी-सन्दकपुर सडकको मर्मत सुधार एवम् स्तरोन्नति, सुरक्षित नागरिक आवास कार्यक्रम लगायत विभिन्न कार्यक्रम तथा आयोजनाका लागि बजेट विनियोजन गरिएकोले यसबाट त्यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास छ। नेपाल पर्यटन बोर्डले पनि त्यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि विभिन्न कार्यक्रमहरू राखेको छ।’