इलाम । तीन खेलको प्रतिबन्ध भोगेर आएकी मोसमत सागोरिकाको ह्याट्रिकसँगै बंगलादेशले साफ महिला यु–२० च्याम्पियनसिपको उपाधि रक्षा गरेको छ। बसुन्धरा किङ्स एरेनामा सोमबार सम्पन्न लिगको अन्तिम खेलमा बंगलादेशले नेपाललाई ४–० ले पराजित गरेको हो। योसँगै बंगलादेशले अपराजित रहँदै उपाधि जितेको हो। बंगलादेशले ६ खेलबाट १८ अंक जोड्यो।
समान खेल खेलेको नेपालको १२ अंक मात्रै रह्यो। प्रतियोगितामा बंगलादेशले नेपाललाई दोस्रोपल्ट हराएको हो। पहिलो खेलमा इन्जुरी समयको अन्तिम सेकेन्डमा गोल गर्दै बंगलादेशले ३–२ को नाटकीय जित निकालेको थियो।
बंगलादेशले सन् २०२३ को संस्करणको पनि उपाधि जितेको थियो। उमेर समूहमा बंगलादेशको यो पाँचौं उपाधि हो।

यसअघि बंगलादेशले दुईपल्ट यु–१९ र समान एकपल्ट यु–१८ र यु–२० च्याम्पियनसिपको उपाधि हात पारेको थियो। बंगलादेशको जितमा सागोरिका नायक बनिन्। गत जुलाई १३ मा नेपाल र बंगलादेशबीचको खेलमा नेपाली डिफेन्डर सिम्रन राई र सागोरिकाबीच मैदानमै हात हालाहाल र कपाल लुछालुछ भएको थियो। सो घटनापछि रेफ्रीले दुवै खेलाडीलाई रातो कार्ड दिएका थिए।
रातो कार्ड पाउँदा समान्यतया एक खेलको प्रतिबन्ध लाग्ने थियो। तर, दक्षिण एसियाली फुटबल महासंघ ९साफ० ले यी दुई खेलाडीलाई ३ खेलको प्रतिबन्ध र समान ५ सय अमेरिकी डलर जरिवाना गरेको थियो। प्रतिबन्धसँगै सोमबारको खेलमा दुवै खेलाडीले पुनरागमन गरेका थिए। तर, सागोरिकाले आक्रामक खेल देखाइन्।
खेलको आठौं मिनेटमै थ्रु बलमा उनले सुन्दर फिनिसिङ गरिन्। गोलकिपर सुजता तामाङ अगाडि बढेको अवस्थामा उनलाई बिट गर्दै सागोरिकाले खाली पोस्टमा गोल गरेकी हुन्। पहिलो हाफमा नेपाल १–० ले पछि थियो। तर, सागोरिकाले पुनस् नेपालमाथि धावा बोलिन्। उनले नेपाली डिफेन्डर सिम्रन र सुजतालाई बिट गर्दै ५२औं मिनेटमा अग्रता दोब्बर बनाइन्। त्यसको ६ मिनेटमै उनले ह्याट्रिक पूरा गरिन्।
मध्यभागबाट आएको बलमा उनले हाइट बलमार्फत गोल गरिन्। बंगलादेशी खेलाडीबाट आएको लङ बललाई डिफेन्डर अनिशा राई पुग्न सकेनन्। त्यहीबेला सुजता अगाडि बढेकी थिइन्। त्यसैको फाइदा उठाउँदै उनले गोल गरेकी हुन्। ७८औं मिनेटमा सागोरिकाले चौथो गोल गरिन्। मुन्की अक्तरले सिम्रनलाई बिट गर्दै दिएको पासलाई उनले सुजताको सामुन्नेबाट गोल गरेकी हुन्।