इलाम । मेची राजमार्गको वैकल्पिक मार्गको रूपमा रहेका दुई सडक खण्डका खोलामा बेली ब्रिज निर्माण सम्पन्न भएको छ । इलाम जिल्लाको पुवामाई खोलाको भाङटार र जोगमाई खोलाको माईबेनीमा बेली ब्रिज निर्माण भएको हो । मेची राजमार्गको राज दुवाली सडक खण्डमा कुनै समस्या आएमा दुवै सडक वैकल्पिक रूपमा प्रयोग गर्न सकिने गरी निर्माण भइरहेको हो ।
मेची राजमार्गको वैकल्पिक र द्रुत मार्ग अन्तर्गत निर्माण भइरहेको इलाम भन्ज्याङ बेलासे सडक खण्डमा मोडुलर बेली ब्रिज निर्माण सम्पन्न भएको छ । मेची कोरिडोर अन्तर्गत पुवा खोलामा बनेको पुल एक करोड ३५ लाख ४४ हजार लागतमा निर्माण सम्पन्न भएको डिभिजन सडक इलामका सूचना अधिकारी अर्जुन घिमिरेले जानकारी दिए ।
उनले यो सडक खण्डमा ठुला सवारी सञ्चालन गर्न मिल्ने गरी सडक निर्माण भइरहेको ले १५ टन क्षमता भएका सवारी साधन ओहोर दोहोर गर्न मिल्ने गरी मोडुलर ब्रिज निर्माण गरिएको जानकारी दिए । सागर , शुभारम्भ एरीसा जेभीले सम्झौता अनुरूप सम्पन्न गर्नुपर्ने अवधि भन्दा २० दिन ढिलो भए पनि निर्माण सम्पन्न गरेको छ । यहाँ एप्रोच रोड अन्तर्गत वारी पारि सडक विस्तार र ग्यावियन पर्खाल निर्माण गरिएको छ ।
पुल निर्माण भएपछि वर्षा याममा समेत मेची राजमार्गमा चल्ने सवारी साधन मेची कोरिडोर अन्तर्गत भन्ज्याङ बेलासे सडकबाट चल्न थालेका छन् । यता मेची राजमार्गको अर्को वैकल्पिक मार्ग अन्तर्गत सीमलगोलाई तिल्केनी सडक खण्डमा पनि ४२ मिटर लामो बेली ब्रिज निर्माण भएको छ । दुई करोड तीन लाख २९ हजारमा माई बेनीमा पनि बेली ब्रिज निर्माण सम्पन्न भएको हो ।
इलाम पुवा खोलामा रहेको पुरानो पुललाई स्थानान्तरण गरी जडान गरिएको भए पनि कतिपय फलामका सामान खिया लागेकाले ४० प्रतिशत हाराहारीमा नयाँ किनेर जडान गरिएको कार्यालयका इन्जिनियर घिमिरेले बताउनुभयो । राउत चौधरी जेभीले उक्त पुल वारी पारी ग्यावियन पर्खाल निर्माण गरी पुल निर्माण सम्पन्न गरेको छ ।
पुवा खोलाको बेली ब्रिजमा एक पटकमा १५ टन र जोगमाईको बेली ब्रिजमा एक पटकमा दश टन मात्र लोड धान्ने गरी यातायातका साधन आवत जावत गर्न दिइने भएको छ ।