Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सुर्याेदय नगरपालिकाले मिलेमतो गरि बोलपत्र दाखिला गरिएको ठेक्का रद्ध

सुर्याेदय नगरपालिकाले मिलेमतो गरि बोलपत्र दाखिला गरिएको ठेक्का रद्ध

  • सन्देश सम्वाददाता
  • बिहिबार, साउन १० २०७५


सुर्याेदय नगरपालिकाले  मिलेमतो गरि बोलपत्र दाखिला गरिएको ठेक्का रद्ध

फिक्कल ।  पूर्वी इलामको सूर्योदय नगरपालिकाले गत जेठ अन्तिममा खोलेको एउटा पूर्वाधार निर्माणसम्बन्धी ठेक्काको बोलपत्र रद्द गरिदिएको छ । ठेक्काको बोलपत्र दाखिला गर्ने क्रममा निर्माण ब्यवसायीहरुको मिलेमतोमा नगरपालिकाको कार्यालयभित्र नै कमिशन (पीसी) बाँडफाँड गरि मिलेर घटाघटमा नगई दाखिला गरिएको सूचनाका आधारमा उक्त ठेक्का रद्द गरिएको नगरप्रमुख रणबहादुर राईले जानकारी दिएका छन् ।

नगरपालिकाको साउन ९ गते बसेको २०औँ पूर्ण बैठकले यस्तो निर्णय गरेको हो । नगरपालिकाले सूर्योदय नगरपालिकाकै पर्यटकीय क्षेत्र कन्याममा मेची राजमार्गबाट १५ मिटर भित्र ९सडकले ओगट्ने भाग० पर्खाल लगाएर ब्यापारिक स्टल राख्ने स्थान बनाउन, शौचालय बनाउन, पार्किङ स्थल बनाउन, खानेपानी ट्याङकी बनाउन ६५ लाख रुपैयाँ बराबरको ठेक्का गत आर्थिक वर्षको ठेक्का नम्बर १५ मा खुलाएको थियो ।

उक्त ठेक्काको लागि कार्यालयबाट निर्माण ब्यवसायीहरुले २६ वटा बोलपत्र फाराम खरिद गरि लगेको भएपनि बोलपत्र दाखिला भने तीनवटा मात्रै भएको थियो । दाखिला भएको तीनवटा बोलपत्रमध्ये पनि एउटा बोलपत्रको मात्र कागजात र प्रक्रिया पुगेको पाइएको नगरप्रमुख राईले जानकारी दिए ।

नगरपालिका स्रोतका अनुसार प्रक्रिया पुरा गरेको बोलपत्रवाला निर्माण ब्यवसायी कम्पनीले ठेक्का अंकको शुन्य दशमलब ६ प्रतिशतमात्र कम रकममा काम गर्नसक्ने गरि दाखिला गरिएको छ । बाँकी दुई वटा फर्ममध्ये एउटाको कागजात नै पूरा नभएको र एउटाको धरौटी रकम दाखिला नभएको पाइएको छ । ती दुवै बोलपत्रमा ठेक्का अंकभन्दा बढी रकममा काम गर्ने गरि पेश गरिएको छ ।

प्रमुख राईका अनुसार बोलपत्र दाखिला गर्ने क्रममा निर्माण ब्यवसायीहरुले मिलेमतो गरेका हुन् । ‘घटाघटमा ठेकका हाल्न नदिइ पीसी बाँडफाँड गरेर मिलेमतोमा नै ठेक्का त्यसरी हालिएको हो । यस्तो खबर सुनेपछि बुभ्mदा प्रमाणित भयो । त्यसैले हामीले रद्द गरिदियौँ’, उनले भने ।

उनले यो ठेक्का विभिन्न कठिनाइका कारण इबिडिङ गर्न नपाई फर्म वितरण गरिएकोले त्यस्तो भएपनि अब लगत्तै त्यो कामको लागि अर्को ठेक्का इबिडिङमार्फत आह्वान गर्ने बताए । एक हप्ता अघिमात्र यो ठेक्काको बोलपत्र खोलिएको थियो । नगरपालिकाको आजकै बैठकले सूर्योदय रेडपाण्डा संरक्षण क्षेत्र थुम्केलाई थप पर्यटकीय स्थल बनाउन पहल गर्ने र चालु आबको नीति तथा कार्यक्रम यही साउन १५ गते सार्वजनिक गर्ने पनि निर्णय गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार