Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

चुलाचुली गाउँपालिकामा ३१ जना परिवारलाई धनीपुर्जा (तस्बिरहरु)

चुलाचुली गाउँपालिकामा ३१ जना परिवारलाई धनीपुर्जा (तस्बिरहरु)

  • सुजन तिमल्सिना 
  • बुधबार, असार ४ २०८२


चुलाचुली गाउँपालिकामा ३१ जना परिवारलाई धनीपुर्जा (तस्बिरहरु)

चुलाचुली । इलामको चुलाचुली गाउँपालिकामा ३१ परिवारले जग्गाधनी प्रमाण–पुर्जा (धनीपुर्जा) प्राप्त गरेका छन् । भूमि समस्या समाधान आयोग जिल्ला समिति इलामको आयोजनामा चुलाचुली गाउँपालिका २, ३ र ५ नम्बर वडाबासीलाई गाउँपालिका कार्यालय परिसरमा आयोजित विशेष समारोहमा ३१ परिवारलाई जग्गाको धनीपुर्जा वितरण गरिएको हो ।

आयोगमा नयाँ नेतृत्व आएपछि देशभरमा तेस्रो र कोशी प्रदेशमा दोस्रो पटक जग्गाधनी प्रमाण–पुर्जा वितरण भएको भूमि समस्या समाधान आयोग जिल्ला समिति इलामका अध्यक्ष प्रकाश अधिकारीले बताए । हरिप्रसाद रिजालको नेतृत्वमा भुमि आयोग गठन भएपछि यसअघि पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाको गृह जिल्ला डडेलधुराको परशुराम नगरपालिका–१२ का ६४ भूमिहीन परिवारलाई पनि जग्गाधनी प्रमाण–पुर्जा वितरण गरिएको थियो ।

चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले भूमिहीन तथा अव्यवस्थित बसोबासीको हक सुनिश्चित गर्न आयोग प्रतिबद्ध भएर लागि परेको बताए । आयोगले अव्यवस्थित बसोबासी र भूमिहीनहरूलाई कानुनी अधिकार दिने मात्र नभई उनीहरूको जीवनमा स्थायित्व, सम्मान र विकासका अवसरहरू विस्तार गर्न यो अभियानलाई प्राथमिकतामा राखेको बताएका छन् ।

कार्यक्रममा कार्यक्रममा आयोगका केन्द्रीय सदस्य तथा कोशी प्रदेश संयोजक अनिलकृष्ण प्रसाईंले कानुनी समस्याका बाबजुत लक्ष्य अनुसार पुर्जा वितरणको काम गर्ने बताए । आयोगका जिल्ला अध्यक्ष प्रकाश अधिकारीले आयोगको क्षेत्राधिकार भित्र रहेका कामहरु द्रुत गतिमा गर्दै पुर्जा बितरणको काम भएको हो । नेपाली कांग्रेस इलामका जिल्ला सचिव निरज खड्गी, नेकपा एमालेका जिल्ला अध्यक्ष गणेश बराल, चुलाचुली गाउँपालिका उपाध्यक्ष दिलु लावती लगायतले मन्तव्य राखेका थिए ।

धनीपुर्जा प्राप्त गरेका स्थानीय बासिन्दाहरूले वर्षौंदेखि आफ्नो बसोबास कानुनी रुपमा सुनिश्चित हुने आशामा पर्खिरहेका थिए । धनीपुर्जा पाएपछि स्थानीय उत्साहित देखिएका छन् । धनीपुर्जा पाएसँगै उनीहरूलाई शिक्षा, स्वास्थ्य, घर निर्माणजस्ता सेवामा समेत सहज पहुँच हुने अपेक्षा गरिएको छ ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले भुमी समस्या समाधान आयोग इलामबाट ६ सय २० जनाको धनीपुर्जाको कार्य अघि बढाएपनि पहिलो चरणमा ३१ जनालाई वितरण गरिएको बताए । उनले अन्य वडामा समेत कार्य अघि बढेकाले चाडै नै सबै पालिकाबासी परिवारमा जग्गाको स्वामित्व रहने बताए । कार्यक्रममा चुलाचुली गाउँपालिका वडा नम्बर १ का अध्यक्ष पूर्ण लावतीले स्वागत मन्तव्य राखेका थिए । पुर्जा वितरण कार्यक्रममा भूमि समस्या समाधान आयोग जिल्ला समिति इलामका विज्ञ सदस्य श्याम खड्गी, सदस्य गणेश राई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन चुलाचुली गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विकास विकले संचालन गरेका थिए ।

तस्बिरहरु :

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार