इलाम : इलामको प्रमुख जिल्ला अधिकारीमा सुनिता नेपाल आउने भएकी छन् । इलामकी प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठलाई गृह मन्त्रालयमा सरुवा गरेसंगै उनको स्थानमा नेपाल आउन लागेकी हुन् ।
स्याङ्जाबाट फिर्ता बोलाएर करिब दुई महिना जिम्मेवारीविहीन राखिएकी सहसचिव नेपाल दोश्रो इलाम आउने महिला प्रमुख जिल्ला अधिकारी हुन् । काठमाडौंकी नेपाल बुबा दामोदर र आमा प्रभाकी सुपुत्री हुन् ।
उनी महिला कोटा प्रयोग नगरी नै आन्तरिक प्रतिस्पर्धाबाट मिति २०७७ असार १२ गते सहसचिव बनेकी थिइन् । अब केही दिनमै उनको सहसचिव बनेको पाँच वर्ष पूरा हुँदैछ। उनीले १४ औँ नम्बरमा नाम निकाली सहसचिवको जिम्मेवारी पाएकी हुन्।
नेपालले २०६१ सालमा शाखा अधिकृत र २०७० मा उपसचिवको पदमा नाम निकालेकी थिइन्। प्रमुख जिल्ला अधिकारीका रूपमा उनले प्युठान, सिन्धुली र स्याङ्जामा सेवा दिइसकेकी छन् ।
श्रेष्ठ १ बर्ष अघि इलामको पहिलो महिला प्रमुख जिल्ला अधिकारीको रुपमा आएकी थिइन् । उनको कार्यकालमा जिल्ला प्रशासन कार्यालय इलाम २ चौमासिकको कार्य सम्पादनमा नेपालमा पहिलो भएको थियो ।