Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

कोशी प्रदेश प्रहरी प्रमुखद्वारा इलामका सरोकारवाला सँग छलफल

कोशी प्रदेश प्रहरी प्रमुखद्वारा इलामका सरोकारवाला सँग छलफल

  • सन्देश सम्वाददाता
  • शुक्रबार, जेष्ठ ३१ २०८२


कोशी प्रदेश प्रहरी प्रमुखद्वारा इलामका सरोकारवाला सँग छलफल

इलाम : कोसी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीले जिल्ला प्रहरी कार्यालय इलामको निरीक्षण गरेका छन् । बिहीबार भ्रमणका क्रममा उनले कार्यालय भवन, मेस, विभिन्न शाखाहरू तथा हिरासत कक्षको अवलोकन गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन निर्देशन दिएका हुन् ।

प्रहरी सेवा चुस्त र जनमुखी बनाउन जोड दिँदै डीआईजी कार्कीले प्रहरी कर्मचारीहरूलाई नागरिकसँगको सम्पर्कलाई अझ सशक्त बनाउँदै जिम्मेवारीपूर्वक कार्य गर्न निर्देशन दिए । उनले जिल्ला स्थित सरोकारवाला निकायसँग छलफल समेत गरेका छन् ।

सरोकारवालाहरूले जिल्लामा बढ्दो लागु औषध नियन्त्रणमा अझ लाग्न सुझाव दिएका छन् । साथै पर्यटकीय जिल्ला भएकाले इलाममा राती ९ बजेपछि पनि होटल सञ्चालन गर्न पाउनु पर्ने माग गरेका थिए । सीमा सुरक्षामा समेत विशेष चासो राख्न जिल्लावासीको अनुरोध छ ।

इलाम नगरपालिकाका मेयर केदार थापाको प्रमुख आतिथ्यता रहको कार्यक्रममा नेकपा एमाले इलाम अध्यक्ष गणेश बराल, नेपाली काँग्रेसका उपसभापति खगेन्द्र देवान, राप्रपाका राजेन्द्र चौहान सञ्चारकर्मी सोम सुसेली, अधिवक्ता शारदा उप्रेती, हुकुम थेबे, उदय राई, दीपेन्द्र कोइराला लगायतले जिल्लामा भइरहेको समस्या तथा समाधानको उपायका बारेमा जानकारी गराएका थिए ।

उनीहरूले उत्तर पूर्वी सीमा नाकाबाट विभिन्न चोरी डकैती हुने बताएका थिए । त्यस्तै जिल्लाको पश्चिम दक्षिणी सीमाबाट लागु औषध तथा आपराधिक गतिविधि बढ्दो अवस्थामा रहेको बताएका थिए ।

प्रहरी नायब महानिरीक्षक (डीआईजी) कार्कीले समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउँदै आत्महत्याको बढ्दो दर नियन्त्रण गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दे आएको र अझ सशक्त बनाउने बताए ।

इलामजस्तो पर्यटकीय र धार्मिक महत्वको पहाडी जिल्लामा शान्ति सुरक्षा कायम गर्न कडाइका साथ चेकजाँच गर्ने व्यवस्था मिलाउन समेत निर्देशन दिए । डीआईजी कार्कीले फरार प्रतिवादीहरूलाई पक्राउ गर्ने अभियानलाई तीव्रता दिनुका साथै वर्षा याममा सम्भावित विपद् (बाढी, पहिरो) का समयमा नागरिकको जीवन र सम्पत्तिको सुरक्षाका लागि तत्काल उद्धार कार्यमा परिचालन हुन सक्ने गरी प्रहरी तयारी अवस्थामा रहनुपर्ने बताए।

निरीक्षण भ्रमणका क्रममा जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक (डीएसपी) मानबहादुर राईले जिल्लाको समग्र शान्ति सुरक्षा अवस्था, जनशक्ति व्यवस्थापन, भावी कार्य योजना र सुरक्षा चुनौतीहरूबारे प्रदेश प्रमुखलाई जानकारी गराएका थिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक एक नारायण कोईराला, प्रदेश प्रहरी गण विराटनगरका प्रहरी उपरीक्षक रुकेश तण्डुकार, लगायतका प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार