इलाम । इलाम नगरपालिकामा बैदेशिक रोजगारी सम्बन्धी संचारकर्मीहरुसंग अन्तरक्रिया गरिएको छ । सामी परियोजना अन्र्तगत वैदेशिक रोजगारीका क्रममा देखिने समस्या, जोखिम, र प्रभावबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।
इलाम नगरपालिका सहकारी श्रम तथा रोजगारी शाखाको आयोजनामा भएको कार्यक्रममा वैदेशिक रोजगारीबाट प्रभावित नागरिकहरूको अवस्थाबारे विस्तृत तथ्यांक प्रस्तुत गरिएको थियो । इलाम जिल्लामा पछिल्लो समय बैदेशिक रोजगारीका क्रममा अंगभंग हुनेहरुको संख्या बढेको देखिएको छ ।
३ आर्थिक बर्षमा २० जना अंगभंगमा परेको देखिएको छ । आर्थिक वर्ष २०७९/८० मा वैदेशिक रोजगारीमा गएका ३ जना श्रमिक अंगभंगमा परेका थिए । आर्थिक बर्ष ०८०/८१ को पुषसम्ममा ८ जना अंगभंगमा परेकोमा ०८१/८२ जेठ २६ सम्म थप ९ जना अंगभंग भएको तथ्यांक प्रस्तुत गरिएको थियो ।
नेपाल सरकार र स्वीस सरकारबीच सम्पन्न द्विपक्षीय सम्झौता अन्तर्गत हेल्भेटास–स्वीस इन्टरको अपरेशनसको प्राविधिक सहयोगमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा सुरक्षित आप्रवासन सामी परियोजना संचालन गरेपछि इलाममा पछिल्लो ६ आर्थिक बर्षमा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका श्रमिकका परिवारलाई वैदेशिक रोजगार बोर्ड र बीमा कम्पनीमार्फत करिब ८ करोड ३६ लाख रुपैयाँको सहायता उपलब्ध गराइएको तथ्यांकमा देखिएको छ ।
ठगीमा १ करोड ४९ लाख ४ हजार ७१८, मेडिकल तथा स्वास्थ्य समस्या संग सम्बन्धित ३५ लाख ८० हजार ७६१ रुपैया तथा अन्य सहयोग १ करोड ८४ लाख ३६ हजार ४४८ गरी कुल गरेर १२ करोड ८ लाख रुपैयाँभन्दा बढीको आर्थिक सहायता प्रदान गरेको छ । परियोजना अन्र्तगत जिल्ला प्रशासन कार्यालयमा राखिएको आप्रवासी स्रोत केन्द्रमा हालसम्म ६ हजार २ सय ११ जना सेवाग्राही पुगेका छन् । तीमध्ये ३ हजार ८३० पुरुष र २ हजार ३८१ महिला रहेका छन्।
सेवा लिनेहरूमध्ये ९२८ जना इलाम नगरपालिकाभित्रकै हुन् । परियोजनामा ६ बर्षको अवधिमा कुल ६६० समस्या दर्ता भएका छन् । ४७८ समस्या समाधान भइसकेका छन् भने १२१ प्रक्रिया क्रममा रहेको जनाइएको छ । ६१ वटा डिफल्ट केस रहेका छन् । समस्या समाधानको सफलता दर ७१ प्रतिशत पुगेको देखिएको छ ।
वैदेशिक रोजगारी सुरक्षित, व्यवस्थित र सचेतपूर्ण बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको सामी परियोजनाकी गिता बञ्जाराले जानकारी दिइन । परियोजना मार्फत एकीकृत रोजगार सेवा केन्द्र सञ्चालन, रिटर्नी स्वयंसेवक परिचालन, मनोसामाजिक परामर्श सेवा, वडास्तरमा रिटर्नी नेटवर्क स्थापना, विद्यालय र समुदायमा चेतनामूलक कार्यक्रम, सामाजिक सञ्जाल र मिडियामार्फत नियमित सूचना प्रवाह, वैदेशिक रोजगार स्टलसहित प्रदर्शनीमा सहभागिता लगायतको कार्य भएको जनाइएको छ ।
इलामको ४ वटा स्थानीय तहबाट सुरु भएको परियोजना अहिले सबै पालिकामा पुगेको जनाइएको छ । इलाम नगर प्रमुख केदार थापाको अध्यक्षतामा भएको कार्यक्रममा बैदेशिक रोजगारीबाट फर्किएका र पिडित परिवारको तर्फबाट ऋतुवर्ण कार्की, बल बहादुर श्रेष्ठ, कुसुममाया लिम्बु, इश्वरी लिम्बु र सुकमाया खातीले भोगेको समस्या र पिडाको बारेमा आफ्नो अनुभव संचारकर्मीहरुलाई सुनाएका थिए । इलाममा सामी परियोजनाको चौथो चरण संचालनमा रहेको छ ।