Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

कप्तान रुविनाको शतकको मद्धतमा मोरङ माथि झापा १३१ रनले बिजयी

कप्तान रुविनाको शतकको मद्धतमा मोरङ माथि झापा १३१ रनले बिजयी

  • नमीन ढकाल
  • बुधबार, जेष्ठ २९ २०८२


कप्तान रुविनाको शतकको मद्धतमा मोरङ माथि झापा १३१ रनले बिजयी

इलाम । कप्तान रुविना क्षेत्री बेलबासेको शतकिय पारीको मद्धतमा झापा महिला क्रिकेट टिमले मोरङ महिला क्रिकेट टिम माथि फराकिलो जित दर्ता गरेको छ । इलामको ठुलो टुडिखेलमा जारी कोशी वुमन्स क्रिकेट टी–२० सिरिजमा झापाले मोरङ माथि १३१ रनको फराकिलो अन्तरले जित हासिल गरेको हो ।

टस जितेर व्याटिङ गरेको झापाले ३ विकेटको क्षतिमा १७९ रनको योगफल तयार पारेको थियो । झापाका लागि कप्तान क्षेत्रीले नटआउट १११ रन बनाइन । ६८ बलको सामना गर्दै उनले ३ छक्का र १९ चौका प्रहार गरेकी थिइन । ओपनर लकिता राजवंशीलाई शुन्य रनमा गुमाएको झापाको लागि अप्सरी बेगमले २८ र रोमा थापाले १६ रन बनाइन ।

स्मृती कटुवालले नआउट ६ रन बनाइन । झापाले १८ रन अतिरिक्त पाएको थियो । मोरङका बलर काजल राजवंशी र कृतिशा धामीले १÷१ विकेट हात पारे । झापा नेपाली सिनियर राष्ट्रिय र उमेर समुहका खेलाडीहरु लिएर मैदान उत्रिएको थियो ।

१८० रनको लक्ष्य लिएर जवाफी व्याटिङमा उत्रिएको मोरङ निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ४८ रनमा समेटिन पुग्यो । मोरङका लागि कृतिशा धामी र समिक्षा राई बाहेक अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् । १० ओभरको खेल चलिरहँदासम्म १८ रनमा ८ विकेट गुमाएको मोरङका लागि धामि र राईले पारी सम्हाल्ने प्रयास गरेपनि जित दिलाउन सकेनन् ।

धामीले १७ र राईले १० रन बाहेक अन्य व्याटरले ५ रन भन्दा बढि स्कोर बनाउन सकेनन् । झापाको कसिलो बलिङ सामु मोरङका व्याटरले खुलेर बाउन्ड्री प्रहार गर्न सकेनन् । २० ओभरमा मोरङले ६ वटा चौका मात्र प्रहार गर्न सक्यो ।
झापाका लागि संगीता राईले २ विकेट लिइन् ।

उनले ४ ओभर बलिङ गर्दै ९ रन दिएर २ विकेट लिएकी हुन् । ४ ओभर बलिङ गरेकी सबनम राईले २ ओभर मेडन राखेर ३ रन खर्चदै १ विकेट लिइन् । रिया शर्मा, एलिसा खडिया र अप्सरी बेगमले समान १/१ विकेट लिए । अप्सरी बाहेक अन्य बलर सामु मोरङका व्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् । ३ ओभर बलिङ गरेकी बेगमले १३ रन खर्चिएकी थिइन् ।

खेलको प्लेयर अफ दि म्याच शतक प्रहार गरेकी रुविना क्षेत्री बेलबासे घोषित भइन् । कोशी पर्यटन बर्षको अवसरमा इलाम नगरपालिका र पर्यटन कार्यालय काँकडभिट्टाको आयोजनामा प्रतियोगिता संचालन भएको हो । प्रतियोगिताको फाइनल आगामी जेठ ३० गते हुनेछ । प्रतियोगितामा झापा र मोरङको महिला टिम सहभागी छन् । दुवै टिमले ३ वटा खेल खेल्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार