Local Sandesh सोमबार, कार्तिक १७ २०८३
  • ट्रेण्डिङ :

फिक्कलमा संचारकर्मीसंग आँखा स्वास्थ्य सचेतना कार्यक्रम

फिक्कलमा संचारकर्मीसंग आँखा स्वास्थ्य सचेतना कार्यक्रम

  • सन्देश सम्वाददाता
  • आइतबार, जेष्ठ १९ २०८२


फिक्कलमा संचारकर्मीसंग आँखा स्वास्थ्य सचेतना कार्यक्रम

फिक्कल । इलामका सञ्चारकर्मीका लागि आँखा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ । नेपाल नेत्र ज्योति संघ, लहान आँखा र कान हेरचाह प्रणाली र विराटनगर आँखा अस्पतालको आयोजनामा सूर्योदय नगरपालिकामा एक दिवसीय सचेतना कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा आँखा र कान रोग सम्बन्धीसचेतना सम्बन्धी पत्रकारहरु माझमा अभिमुखीकरण गरिएको थियो ।

कार्यक्रममा विराटनगर आँखा अस्पतालका सर्जन डा रविन आचार्यले कान सम्बन्धी रोगको बारेमा प्रस्तुतीकरण गरेका थिए । उनले कान पाक्ने रोगबाट बहिरोपनको समस्या नेपालमा धेरै देखिएको बताए । उनले कान नदुखुन्जेलसम्म विरामीहरुले उपचारको महसुस नगर्ने गरेको देखिएको बताए । उनले कानमा जथाभावी औषधी प्रयोग गर्नाले नशामा क्षति पुग्ने गरेको उल्लेख गरे ।

डा आचार्यले नशामा क्षति पुगेपछि पुरानो अवस्था नर्फर्ने भएकाले कानमा तेल र जथाभावी औषधी प्रयोग नगर्न सुझाव दिए । विभिन्न समयमा गरिएको अध्ययनले नेपालमा औषत १८.८६ प्रतिशतमा कानको समस्या र बहिरोपन देखिएको उल्लेख गरे । विराटनगर आँखा अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा ललित अग्रवालले मधुमेहका कारण आँखा समेत असर पुग्ने बताए । उनले नसर्ने रोगका कारण आँखाको रेटिनामा समस्या देखिने गरेको उल्लेख गरे ।

अग्रवालले औषत १२ जनामा १ जना नेपालीलाई मधुमेहको समस्या देखिएको उल्लेख गरे । उनले ५० प्रतिशत मधुमेहका विरामीहरुलाई थाहा नपाइ रोग लाग्ने गरेको उल्लेख गरे । डाइविटिज रेटिनोपेथीका ७० प्रतिशत विरामीहरुलाई लक्षण नदेखि नै रोग लाग्ने गरेको बताए । उनले आँखाको पावर परिक्षण गरेर मात्र डाइविटिज रेटिनोपेथी पत्ता नलाग्ने गरेको कारण उच्चरक्तचाप र मधुमेह रोग भएका बिरामीले कम्तीमा वर्षको एक पटक आँखा अनिवार्य रुपमा जचाउनुपर्ने उनले सुझाव दिए ।

मोतियाविन्दु जन्मेको बच्चादेखि वृद्धसम्मलाई हुने भएकाले यो रोगले कुनै पनि उमेर भन्ने गदैैन् । मोतिविन्दु हुने व्यक्तिको आँखाको नानी सेतो भएर दृष्टि कमजोर हँुदै जानु यसको मुख्य लक्षण रहेको छ भने मोतीविन्दुको शल्यक्रिया गर्दा आँखाभित्र लेन्स राखिन्छ र पहिलाको जस्तै आँखा देख्न सकिन्छ । विराटनगर आँखा अस्पताल र अत्याधुनिक नयाँ उपकरणबाट कम्प्युटराइज फेको प्रविधिद्वारा मोतियाविन्दुको शल्यक्रिया गरिदै आएको उनले बताए ।

थाइराइडको कारणले समेत अाँखामा समस्या आउने गरेको उनले बताए । सन्तुलित आहार नलिने, हरियो सागसब्जी नखाने, स्वच्छ वातावरणमा नबस्ने, आँखालाई सामान्य रुपमा लिने मानिस नै आँखाका बढी रोगी हुने गरेका छन् । विराटनगर आँखा अस्पतालका मोहम्मद रफिकले इलाम जिल्लामा नेत्रज्योती संघबाट संचालित आँखा तथा कान उपचार केन्द्रको सेवा बारेमा जानकारी गराएका छन् ।

संघ मातहतबाट सूर्योदय नगरपालिकाको फिक्कल बजार र फिक्कल अस्पताल, देउमाई नगरपालिकाको मंगलबारे र इलाम अस्पतालमा उपचार केन्द्र स्थापना गरिएको छ । फिक्कलमा रहेको आँखा उपचार केन्द्रमा फेको, जेप्टोजस्ता आधुनिक प्रविधिमार्फत मोतिविन्दुको सफल उपचार हुने गरेको छ भने जलविन्दु, रेटिनाको विशेष शल्यक्रिया, आँखाको नानीको प्रत्यारोपण, ओकुलोप्लास्टी समेत आधुनिक प्रविधिमार्फत गरिँदै आएको छ । फिक्कल बजारमा २०८० माघबाट आँखा उपचार केन्द्र संचालनमा आएको थियो ।

स्वागत मन्तव्य राख्दै नेत्र ज्योती संघ इलामका उपसभापति हेमकुमार कार्की ‘बिष्णु’ ले संघले आँखा र कान उपचार केन्द्र संचालनमा ल्याएपछि जिल्लामै उपचार पाउन सहज भएको बताए । उनले उपचारका लागि जिल्ला बाहिरिने करोडौ रुपैया रोकिएको बताए । नेत्र ज्योती संघका अध्यक्ष इन्द्र फुयाँलको अध्यक्षतामा भएको कार्यक्रम सचिव प्रकाश भट्टराईले संचालन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार