फिक्कल । सूर्योदय नगरपालिकामा २ दिवसीय अन्तरराष्ट्रिय साहित्य सम्मेलन सम्पन्न भएको छ । सूर्योदय नगरपालिका नगर साहित्य, कला तथा सङ्गीत प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रमको दोश्रो दिन साहित्य बाचन र प्यानल डिस्कनसंगै सम्पन्न भएको हो ।
दोश्रो दिन साहित्यकार कृष्ण बराल, पोएट आइडल बिजेता सुकिता सिम्योन राई, प्रविन खालिङ, देवान किराती, अभागी थेगुवा, टिका आत्रेय, खगिन्द्र खुशी, इलामे जेठो, दार्जिलिङका कवि चन्द्रकुमार राई, मिरिककी साहित्यकार कमला तामाङ, डिएल प्रधान लगायत नेपाल र भारतका एक दर्जन भन्दा बढि साहित्यकारहरुले आफ्नो सृजना बाचन गरे ।
दोस्रो दिन ‘सूर्योदयको साहित्यको बिकास र राष्ट्रिय साहित्य सम्बन्ध’ शिर्षकमा बहस गरिएको छ । सुवास राईले सहजीकरण गरेको बहसमा साहित्यकार अमर न्यौपाने, प्राज्ञ राजन मुकारुङ र साहित्यकार कुलप्रसाद ढकाल सहभागी थिए । अन्तिम दिन लोपोन्मुख लेप्चा जातिको नृत्य, संगिनी नाच, स्काउटको परेड लगायतका कार्यक्रमहरु आयोजना गरिएको थियो ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपती भुपाल राई, सूर्योदय नगर उपप्रमुख दुर्गाकुमार बराल लगायतले मन्तव्य राखेका थिए ।