इलाम : इलामको चुलाचुली गाउँपालिकामा आयोजित तीनदिने निःशुल्क आँखा शिविरमा ८४ जनाको मोतियाबिन्दुको सफल शल्यक्रिया गरिएको छ। शिविर चुलाचुली गाउँपालिकाको आयोजना, नेत्रज्योति संघ इलामको व्यवस्थापन र विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको हो। गाउँपालिकाको ६ वटै वडामा प्रारम्भिक आँखा जाँच र औषधि वितरणपछि मोतियाबिन्दुका बिरामी छनोट गरिएका थिए।
उनीहरूको चुलाचुली आधारभूत अस्पतालमा निःशुल्क अपरेशन गरिएको हो। स्थानीय बासिन्दाले गाउँमै यस्तो सेवा पाएकोमा खुसी व्यक्त गरेका छन्। स्वास्थ्य शाखा प्रमुख दुस्यन्त दाहालका अनुसार गाउँपालिकाले सर्वसाधारणको सुविधालाई प्राथमिकता दिँदै शिविर सञ्चालन गरेको हो। गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङका अनुसार, टाढा जानु परे अधिक समय र खर्च लाग्ने भएकाले पालिकामै सेवा प्रदान गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको हो।
उनले गाउँपालिकाबाट स्वास्थ्य बीमा सहितको अस्पताल सञ्चालनमा आइसकेपछि स्थायी रूपमा चिकित्सकको व्यवस्था नहुँदासम्म शिविरकै माध्यमबाट सेवा दिने योजना रहेको जानकारी दिए। विराटनगर आँखा अस्पतालका चिकित्सक कुसवान सिंहका अनुसार शिविरको पहिलो चरणमा करिब ५ सय जनाको आँखा परिक्षण गरिएको थियो।
सो क्रममा आवश्यक चस्मा र औषधिहरू निःशुल्क वितरण गरिएको थियो। अपरेशन गरिएका बिरामीको आँखामा बाँधिएको पट्टी आज खोलिएको छ। नेत्रज्योति संघ इलामले जिल्लाका विभिन्न पालिकासँग सहकार्य गरी यस्ता आँखा शिविरहरू निरन्तर सञ्चालन गरिरहेको छ।