इलाम । भक्तपुर क्यान्सर अस्पतालको आयोजना र इलाम अस्पतालको समन्वयमा इलाममा महिलाहरूको लागि पाठेघर तथा स्तन क्यान्सरको निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ। ‘शुरुमै उपचार गरेमा क्यान्सर निको हुन्छ’ भन्ने जनचेतनामूलक नाराका साथ सञ्चालन भएको यो शिविरमा इलाम र आसपासका क्षेत्रबाट आएका सयौँ महिलाहरूले स्वास्थ्य परीक्षण गराएर लाभ उठाएका छन्।
भक्तपुर क्यान्सर अस्पतालले महिलाहरूमा बढ्दो रूपमा देखिने पाठेघर र स्तन क्यान्सरको समयमै पहिचान गरी उनीहरूलाई आवश्यक उपचारमा सहयोग पुर्याउने उद्देश्यले यो निःशुल्क स्वास्थ्य परीक्षण शिविर आयोजना गरेको इलाम अस्पतालका प्रमुख डा। प्रभु शाहले जानकारी दिए। उनले शिविरको उद्देश्य महिलाहरूलाई क्यान्सरको जोखिम र यसबाट बच्ने उपायहरूबारे सचेत गराउनु पनि रहेको बताए ।
डा। शाहले भने , ‘हामीले भक्तपुर क्यान्सर अस्पतालसँगको सहकार्यमा यो महत्वपूर्ण शिविर आयोजना गर्न पाएकोमा खुसी छौँ। क्यान्सरलाई समयमै पहिचान गर्न सके धेरै हदसम्म निको पार्न सकिन्छ। यसै सन्देशलाई समुदायस्तरसम्म पुर्याउन यो शिविर प्रभावकारी भएको छ। शिविरमा सहभागी सबै महिलाहरूलाई हामी धन्यवाद दिन चाहन्छौँ।’
शिविरमा महिलाहरूको पाठेघरको मुखको क्यान्सर (सर्भिकल क्यान्सर) पहिचानका लागि प्याप स्मेयर परीक्षण र स्तनमा हुने गाँठागुठी तथा अन्य पहिचानका लागि शारीरिक परीक्षण गरिएको थियो। आवश्यकता अनुसार परामर्श सेवा पनि प्रदान गरिएको थियो। शिविरमा भक्तपुर क्यान्सर अस्पतालबाट आएका विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीहरूको टोलीले सेवा प्रदान गरेका थिए।
शिविरमा सहभागी इलाम नगरपालिकाकी एक महिलाले भनिन्, ‘गाउँमै यस्तो निःशुल्क शिविर पाउँदा हामी धेरै खुसी छौँ। काठमाडौँ गएर परीक्षण गराउन धेरै खर्च लाग्थ्यो। यहाँ सजिलै परीक्षण गर्न पायौँ, यो धेरै राम्रो भयो।’ इलाम अस्पतालले शिविरको व्यवस्थापन र समन्वयको सम्पूर्ण कार्य गरेको थियो।
यो शिविर इलामका महिलाहरूको लागि क्यान्सर रोकथाम र सचेतनाको लागि एक महत्वपूर्ण अवसर साबित भएको छ। आयोजकहरूले भविष्यमा पनि यस्ता जनचेतनामूलक र स्वास्थ्य परीक्षण शिविरहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यस प्रकारका शिविरले दुर्गम क्षेत्रका महिलाहरूलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।