Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलामको रोङ गाउँपालिका शिक्षामा कोशी प्रदेशकै उत्कृष्ट

इलामको रोङ गाउँपालिका शिक्षामा कोशी प्रदेशकै उत्कृष्ट

  • सन्देश सम्वाददाता
  • बिहिबार, जेष्ठ ९ २०८२


इलामको रोङ गाउँपालिका शिक्षामा कोशी प्रदेशकै उत्कृष्ट

रोङ : इलामको रोङ गाउँपालिका शिक्षा क्षेत्रमा कोशी प्रदेशकै उत्कृष्ट पालिकाका रूपमा छनौट भएको छ। देशभरका सामुदायिक विद्यालयका प्रधानाध्यापकको संस्था प्रिन्सिपल्स एसोसिएसन अफ् नेपाल (प्यान) ले रोङ गाउँपालिकालाई शिक्षा क्षेत्रमा गरेको योगदानका आधारमा कोशी प्रदेशको उत्कृष्ट पालिकाका रूपमा छनौट गरेको हो ।

एसोसिएसनले शिक्षा क्षेत्रमा अतुलनीय योगदान गरेका उत्कृष्ट पालिका, विद्यालय र प्रधानाध्यापकलाई पुरस्कृत गर्न गठित मूल्याङ्कन समितिले कोशी प्रदेशमा रोङ गाउँपालिकालाई छनौट गरेको बिज्ञप्तीमा जनाएको छ । प्राध्यापक डाक्टर बिद्यानाथ कोइरालाको संयोजकत्वमा गठित समितिले बिभिन्न २५ वटा मापदण्डका आधारमा रोङ गाउँपालिकालाई छनौट गरेको प्यानका अध्यक्ष सुदाम प्रसाद गौतमले जानकारी दिए ।

प्यानले जेठ २६ गते पोखरा सभा गृहमा कार्यक्रम गरी पुरस्कार तथा सम्मानपत्र वितरण गर्ने जनाएको छ । शिक्षाका सूचकमा शिक्षामा गरेको लगानीमा ३० अङ्क, निःशुल्क र समावेशी शिक्षामा १० अङ्क, दीर्घकालीन योजनामा १० अङ्क, असल अभ्यासमा २० अङ्क, प्राविधिक सञ्चालनमा १० अङ्क, स्थानीय पाठ्यक्रम तथा प्रविधिमा १० अङ्क र सुशासनमा १० अङ्क गरी मूल्याङ्कन गरेको थियो।

रोङ गाउँपालिकाले प्रविधिमैत्री बिद्यालय निर्माण गरी अभिभावक शिक्षा लागु गरेको छ । यस पालिकामा महिनामा एक दिन बिद्यार्थी घर बसेर अभिभावक पढन बिद्यालय जाने गरेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख श्रुती तामाङले जानकारी दिइन। पालिकाले विज्ञान प्रदर्शनी, बाल बचत खाता सञ्चालन गर्दै आएको गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङबोले जानकारी दिए ।

बाल बचतमा ३५ लाख हाराहारी रकम जम्मा भैसकेको छ । उनले भने ‘शिक्षालाई हामीले निक्कै प्राथमिक्ता दिएका छौ, यो मुल्याङ्कनले काम गर्ने साथीहरु र पालिकालाई हौसला मिलेको छ ।’ पालिका भित्र ३० वटा सामुदायिक र २ वटा संस्थागत बिद्यालय रहेका छन् । गत बर्ष इलामकै सूर्योदय नगरपालिका उक्त कार्यक्रममा उत्कृष्ट बनेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार