इलाम– इलामको सूर्योदय नगरपालिका वडा ४, ५ र ६ को संगमस्थल महेन्द्रबेंसीलाई धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्न स्थानीय जुटेका छन् । सिद्धिखोला, कन्याम र अन्तुखोलाको त्रिवेणीसमेत रहेको यो स्थानलाई हिन्दू, बौद्ध र किरातलगायत धर्मावलम्बीको धार्मिक क्षेत्रका रूपमा संरक्षण गर्न तीनवटै वडाका बासिन्दाले सामूहिक प्रयास थालेका हुन् ।
वरिपरि वनजंगल र जैविक विविधताले भरिपूर्ण यो स्थानको सौन्दर्यलाई धेरैभन्दा धेरै पर्यटकसामु चिनाउन आफूहरू लागिपरेको उनीहरूले जनाएका छन् । यहाँको प्रचार गरी पर्यटकीय पूर्वाधार विकासबारे सम्बन्धित पक्षको ध्यानाकर्षणसमेत गर्न बहुधार्मिक, बहुसांस्कृतिक पूजापाठसमेत आयोजना गरेका थिए ।
तीनै वडाका सयौं बासिन्दा यहाँ भेला भइ पूजापाठ र औपचारिक कार्यक्रमसमेत सम्पन्न गरे । त्यस अवसरमा यहाँ हिन्दू, किरात, बौद्ध र प्रेमवाद धर्मावलम्बीले एकसाथ पूजा र प्रार्थना गरेका छन् । ‘धार्मिक, ऐतिहासिक भूमिलाई चिनाउने अभियान, सबै धर्मको सम्मान’ नारासहित महेन्द्रबेंसी दुर्गाघाट सर्वधर्म त्रिवेणी धाम समितिले आयोजना गरेको कार्यक्रममा वडा ४ अध्यक्ष शरण राई, वडा ५ अध्यक्ष उर्गेन बम्जन र वडा ६ अध्यक्ष शिव बस्नेतसमेत सहभागी भए ।

वडाध्यक्षहरूले यस क्षेत्रलाई धार्मिक, ऐतिहासिक र पर्यटकीयस्थलका रूपमा विकास गर्न वडा र स्थानीय सरकारले सघाउने प्रतिबद्धता गरे । वडाध्यक्षत्रयले त्रिवेणीमा पक्की पुल निर्माण, वारिपारिको सडक स्तरोन्नति र अन्य आवश्यक पूर्वाधार निर्माण गर्न आफूहरूले आउँदो आर्थिक वर्षदेखि नै पहल गर्ने बताएका थिए ।
पर्यटकीय क्षेत्र विकासका लागि सडक, पुल, धार्मिकस्थल, धारो, पार्क, चर्पीलगायत आवश्यक पर्ने भएकाले ती संरचना निर्माणमा आफूहरू संयुक्त रूपमा योजना बनाएर अघि बढ्ने वडाध्यक्षहरूको प्रतिबद्धता थियो । आयोजक समिति अध्यक्ष तिलक राईको अध्यक्षतामा भएको कार्यक्रममा सम्बन्धित वडाका सदस्यहरू, स्थानीय अगुवा, समाजसेवीहरू, नेपाल पत्रकार महासंघ, इलाम शाखा अध्यक्ष भीम चापागाईं, सदस्य खेमराज ढकाललगायतको सहभागिता थियो ।
स्थानीय अगुवा चक्रपाणि घिमिरेले २०१८ सालमा यहाँ सप्ताह ज्ञानमहायज्ञ आयोजना गरिएको बताए । उनका अनुसार २०२२ सालमा पनि यहाँ पुराण आयोजना गरिएको थियो । ‘त्यसयता निकै समय यो ठाउँ सुनासान नै रह्यो,’ उनले भने, ‘तर, उहिले नाम चलेका धार्मिक गुरुहरू यो त्रिवेणीमा आएर नुहाउने र अलि माथिल्लो (आज पूजा गरिएको ठाउँ) ठाउँमा पूजा गरेर फर्किनेगरेको पाइयो ।’
स्थानीय लामा तिलविक्रम राईले यो ठाउँलाई बहुधार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्न सकिने प्रबल सम्भावना रहेको औंल्याए । वडा ६ का यामबहादुर राईले विशेषगरी हिन्दु, बौद्ध र किरात धर्मावलम्बीले यो स्थानलाई पवित्र रूपमा मानेर पूूजापाठ गरेको सुनाए । स्थानीय डिल्ली गजुरेल, युवराज (योगराज) पोख्रेल, दिनेश राई र प्रेमचन्द्र गजुरेललगायतले यहाँको धार्मिक पर्यटन सम्भावनाबारे जानकारी गराए ।
स्थानीय कृष्ण घिमिरेले त्रिवेणीमा पुल नहुँदा बर्खाभर वारिपारिका दुई गाउँको आउ–जाउ बन्द हुनेगरेको गुनासो गरे । ‘कतिपयको जग्गा र घरगोठ खोला वारि र पारि रहेकाले बर्खामा आफ्नै बारीमा पुग्नसमेत नसकिने अवस्था छ,’ उनले भने, ‘कमसमेकम दिनहुँ सयौं मानिसको आउ–जाउ हुने यो खोलामा पुल भइदिने ठूलो राहत हुने थियो ।’

घिमिरेमात्र होइन, स्थानीय धेरैले यहाँ पुल र वारिपारिको सडक सुविधा नहुँदा सास्ती खेप्न बाध्य भएको सुनाए । उनीहरूले हर्कटेबाट यो ठाउँ भएर अन्तुडाँडा जाने सडक र पुल व्यवस्थित बने अहिले तराईका बासिन्दाको अन्तुडाँडा जाने बाटो निकै छोटो पर्ने पनि बताए ।
‘कहिले यहाँ पुल बनिसक्यो भन्ने खबर आउँछ, कहिले यो साल पुलका लागि बजेट आयो भन्ने सुनिन्छ । तर, अन्तिममा कथामा मात्रै सीमित भइरहेको छ,’ एक स्थानीय आक्रोशित भए, ‘जहिल्यै हाम्रो काम चाहिँ नेतालाई भोट दिएर जिताउनेमात्रै भएको छ, जितेर गएपछि हाम्रो पीडा कसले सुन्ने ?’ त्यस अवसरमा धार्मिक पर्यटकीयस्थललाई जग्गादान गर्ने स्थानीय तीन जनालाई सम्मान समेत गरियो ।