फिक्कल । माइजोगमाई अध्यक्ष कप अन्तरपालिका आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको उपाधि माङसेबुङ गाउँपालिकाले जितेको छ । फाइनल खेलमा देउमाई नगरपालिकालाई टाइब्रेकरमा ४–१ गोल अन्तरले पराजित गर्दै माङसेबुङले उपाधि जितेको हो ।
निर्धारित समय १–१ गोलको बराबरी पछि खेल टाइब्रेकरमा पुगेको थियो । दोस्रो हाफको ७औं मिनेटमा माङसेबुङका आशाङ लिम्बूले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । एक गोलले पछि परेको देउमाई २५औं मिनेटमा किरण मगरको गोलबाट खेलमा फर्कियो ।
टाइब्रेकरमा माङसेबुङका संगिन लिम्बू, आशाङ लिम्बू, प्रविन राई र मनोज लिम्बूले गोल गर्दा देउमाईको तर्फबाट दर्शन मुखिया मात्र गोल गर्न सफल भयो । देउमाईका किरण मगरको प्रहार गोल पोष्टमा लागेर बाहिरिएको थियो भने धन बहादुर गुरुङ ( आदर्श) को प्रहार माङसेबुङका गोल रक्षक आयुष लिम्बूले बिफल तुल्याएका थिए ।
व्यक्तिगत विधामा माङसेबुङका खेलाडीहरुको वर्चस्व रहयो । प्रतियोगितामा आयुष प्रतियोगिताको उत्कृष्ट गोल रक्षक बने । मनोज लिम्बू उत्कृष्ट डिफेन्स, संगिन लिम्बू उत्कृष्ट मिडफिल्डर र प्रविन राई सर्वोकृष्ट खेलाडी घोषित भए । सर्वाधिक गोलकर्ताको उपाधि देउमाईका मुकेश मगरले पाए ।
उपाधिसँगै माङसेबुङले नगद दुई लाख एक हजार एक सय ११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता देउमाईले नगद एक लाख ३१ हजार एक सय ११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । माइजोगमाई खेलकुद विकास परिषदको आयोजनामा भएको प्रतियोगितामा इलामका १० वटा स्थानीय तहको सहभागिता रहेको थियो ।