Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

एमएम कप : कोशी प्रदेशसँग नेपाल पुलिस स्तब्ध, प्रेम कामतले लिए पाँच विकेट

एमएम कप : कोशी प्रदेशसँग नेपाल पुलिस स्तब्ध, प्रेम कामतले लिए पाँच विकेट

  • सन्देश सम्वाददाता
  • मंगलबार, बैशाख १६ २०८२


एमएम कप : कोशी प्रदेशसँग नेपाल पुलिस स्तब्ध, प्रेम कामतले लिए पाँच विकेट

इलाम । विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा विजयी सुरुवात गरेको छ। समूह ‘बी’ अन्तर्गतको पहिलो खेलमा कोशीले पुलिसलाई स्तब्ध पार्ने क्रममा ३७ रनले पराजित गर्‍यो। मात्र ९४ रनको लक्ष्य पछ्याएको पुलिसले २४.५ ओभरमा ५६ रनमा सबै विकेट गुमायो।

नेपाल पुलिस क्लबका कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। माथिल्लो क्रममा ब्याटिङ गरेका रोहन बिकले ६, अविनाश कर्णले ९, शंकर रानाले ५, दिपक डुम्रेले १, अमित श्रेष्ठले ९ तथा अरुण ऐरी खाता नखोली आउट भए। ३४ रनमा ६ विकेट गुमाएपछि कोशीले पुलिसलाई खेलमा फर्कन दिएन।

कोशीको बलिङमा डेब्यू गरेका देब्रे हाते स्पिनर प्रेम कामत एक्लैले ५ विकेट लिए। ९ ओभर बलिङ्ग गर्दै ३ मेडन गरेर १५ रन मात्र खर्चिएका कामत प्लेयर अफ द म्याच घोषित भए। अर्का देब्रे हाते स्पिनर प्रकाश कार्कीले ३ विकेट लिए जुन क्रममा उनले ९ बोहरमा २ मेडन गर्दै १६ रन मात्र खर्चिए। भुपाल लुइँटेलले १ विकेट लिंदा पुलिसले एक विकेट रन आउट मार्फत गुमायो। यस अघि टस हारेर ब्याटिङ गरेको कोशी प्रदेशले २९.३ ओभरमा ९३ रनमा सबै विकेट गुमायो।

कोशीको ब्याटिङ ओपनर रुपक बरालले सर्वाधिक २१ रन बनाए। मिनाश थापा र सुमन गहतराजले समान १५ रन बनाए।
नेपाल पुलिस क्लबको बलिङमा पेसर सुनील दौल्यालले ५ विकेट लिए जुन क्रममा उनले ८ ओभरमा २५ रन खर्चिए। बिपिन खत्री र चित्र बिष्टले समान २ विकेट लिए।

प्रतियोगिता अन्तर्गत समुह ‘बी’ दोश्रो खेलमा भोलि बुधबार कोशी प्रदेशले भारतको आसम क्रिकेट टिमसंग प्रतिस्पर्धा गर्नेछ। भोलि कोशीले आसमलाई पराजित गरे फाइनल प्रवेश गर्नेछ। आसमले कोशीलाई पराजित गरेको खण्डमा बिहीबार हुने आसाम र नेपाल पुलिस क्लब विरुद्धको खेलले फाइनल पुग्ने टिमको निर्धारण गर्नेछ। समूह ‘ए’ को विजेताको रुपमा त्रिभुवन आर्मी क्लब फाइनल प्रवेश गरिसकेको छ।

प्रतियोगितामा ६ टिम सहभागी छन् जसलाई दुई समूहमा बिभाजन गरिएको छ। समुह ‘ए’ मा शशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश छन्। समुह ‘बि’ मा नेपाल पुलिस क्लब, कोशी प्रदेश र भारतको आसाम क्रिकेट टिम रहेका छन्।
प्रतियोगिताको विजेता टोलीले रु। ४ लाख नगदसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ ।

उपविजेता टोलीलाई रु। २ लाख नगदसहित ट्रफी, प्रमाणपत्र र मेडल दिइनेछ। त्यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई रु। २५ हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई जनही रु १५ हजार तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई रु ४ हजार नगदसहित ट्रफी प्रदान गरिनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार