इलाम । कोशी प्रदेश भ्रमण वर्ष घोषणापछि पूर्वी पहाडी क्षेत्रका पर्यटन व्यवसायी उत्साहित भएका तन् । भ्रमण वर्षले ग्रामीण क्षेत्रको पर्यटकीय गन्तव्यहरु प्रवद्र्धन हुनेमा पहाडी क्षेत्रका पर्यटन व्यवसायीहरु आसावादी भएका हुन् ।
पाँचथरको फालेलुङ स्थित चाररातेमा चौँरीको माध्यमबाट पर्यटन प्रवद्र्धन हुँदै आएको छ । हिउँ पर्ने डाँडामा आन्तरिक र बाह्य पर्यटक भित्र्याउने लक्ष्य लिएको चौँरी महोत्सवको आठौँ संस्करण पुरा भएको छ ।
लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको माध्यमबाट पर्यटक भित्र्याउन इलामको सन्दकपुर गाउँपालिका प्रयासरत छ । पदमार्गमा आधारित रेडपाण्डा पर्यटन महोत्सवको सन्दकपुरमा दास्रो संस्करण पुरा भएको हो । चौँरी र रेडपाण्डा मात्रै हैन पूर्वी पहाडी जिल्लामा आन्तरिक र बाह्रय पर्यटक भित्र्याउने दर्जनौ गन्तव्यसँगै, वन्यजन्तु, सिमसार, चराहरु र हिमश्रङ्खला छन् ।
यी गन्तव्यहरुमा पर्यटन भित्र्याउन कोशी प्रदेश सरकारले घोषणा गरेको भ्रमण वर्ष २०८२ सँग पर्यटन व्यवसायी आसावादी रहेको पाँचथर फालेलुङ गाउँपालिकाका पर्यटन व्यवसायी चन्द्र नेपालले बताए ।
कोशी प्रदेशका झापा, इलाम, पाँचथर र ताप्लेजुङ्ग जिल्लामा देशकै होचो भु–भाग केचनादेखि तेस्रो अग्लो हिमऋङ्खला कंचनजंघासम्म पर्छ । यहाँका पर्यटकीय क्षेत्रमा झापाको काँकरभिट्टा र इलामको पशुपतिनगरबाट बाह्य पर्यटकहरु नेपाल भित्रन्छन् । पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडाका अनुसार कोशी प्रदेशको मेची कोरिडोरमा घुम्न आउने बिदेशी पर्यटकमा भारतीय पर्यटकहरु धेरै छन् ।
नेपाल आउने पर्यटकहरु धेरै मात्रामा प्राकृतिक सुन्दरतामा रम्न आउने गरेका हुन् । नेपाल भित्रने पर्यटकहरुमा भारतको पश्चिम बंगाल अधिक हुन्छन् । आन्तरिकसँगै बाह्य पर्यटकहरुको संख्या ग्रामीण पर्यटकीय गन्तव्यमा बढ्दै जाँदा कोशी प्रदेश भ्रमण वर्षले प्रवद्र्धनमा सहयोग पुग्ने होटल एशोसिएसनका प्रदेश अध्यक्ष राजन दंगालले बताए ।
भ्रमण वर्ष २०८२ को चालु आर्थिक वर्षमा प्रदेश सरकारले १० करोड खर्च गर्ने लक्ष्य लिएको छ । प्रदेश सरकारले खर्च गर्ने बजेट सहि सदुपयोग भएमा पूर्वी पहाडी क्षेत्रका पर्यटकीस्थलमा पर्यटक पुग्ने देखिन्छ ।