ट्राफिक प्रहरीले स्कुटरका चालकजस्तो देखिने एक व्यक्तिलाई बुटले अनुहार नै रक्ताम्य हुनेगरी प्रहार गरेर बेहोस पारेको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । बिहीबार अपराह्नतिरदेखि सामाजिक सञ्जालमा छ्यापछ्याप्ती देखिएको भिडियोमा ती व्यक्तिको मुखबाट रगत पनि आएको देखिन्छ । त्यति गर्दा पनि ती ट्राफिक प्रहरीको रिस नमरेपछि कागजपत्र फालेको देखिन्छ ।
घटना सडक किनार क्षेत्रमा भएको अनुमान गर्न सकिन्छ । १८ सेकेन्डको भाइरल भिडियोमा त्यसरी कुटपिट हुँदा वरिपरी चार जना ट्राफिक प्रहरी देखिएका छन् । कुटपिट गर्ने ट्राफिक प्रहरीका जवान हुन् । त्यहाँ ट्राफिक प्रहरीको हवल्दार पनि देखिन्छन् । तर, त्यसरी कुटपिट गर्दा रोक्ने कोही देखिएन ।
यो घटनाबारे हामीले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) तथा प्रवक्ता दिनेशकुमार आचार्यलाई सोध्यौँ । उनले ट्राफिक प्रहरीले कुटपिट गरेको भाइरल भिडियोबारे अनुसन्धान भइरहेको बताए । तर, भिडियो पुरानो हुन सक्ने उनको भनाइ छ । ‘हामीले त्यो भिडियो देख्यौँ । तर, ट्राफिक प्रहरीले ज्याकेट लगाउन छोडेको त धेरै भइसक्यो । अलिकति पुरानो भिडियो हो भन्ने हामी गेस गर्न सक्छौँ,’ उनले भने, ‘तर, के हो रु कसो हो रु अनुसन्धान गर्दै छौँ । संलग्नलाई कारबाही गर्छौं ।’