इलाम । मोरङ जिल्लाको दुई छुट्टा छुट्टै स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । करेन्ट लागेर इलामको चुलाचुलीका २८ बर्षीय राजेश लावतीको मृत्यु भएको हो । मोरङको सुन्दरहरैँचा नगरपालिका–९ मा बिजुलीको पोलमा चढेर तार सिपटिङ गर्ने क्रममा अचानक करेन्ट लाग्दा उनको मृत्यु भएको हो ।
घाइते बनेका लावतीलाई उपचारको लागि नोबल अस्पताल लाग्ने क्रममा मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । उनीसंगै रहेका ईटहरी उप–महानगरपालिका–१७ का ४३ बर्षीय बाल कुमार अधिकारीको न्युरो अस्पताल बिराटनगरमा उपचार भईरहेको छ । त्यसैगरी विराटनगरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
बिहार जोगवनी टिकुलिया घर भई हाल बिराटनगर–१५ स्थित ससुरालीमा बस्दै आएका ३६ बर्षीय सुरेश चौधरीको मृत्यु भएको हो । कोठा भित्र सुति रहेको अवस्थामा ओछ्यान नजिकै राखेको टेवल पङ्खाबाट अचानक करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका उनको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।