आईसीसी यू–१९ विश्वकप एसिया छनोट अन्तर्गत नेपाल र अफगानिस्तानबीचको खेल रद्द भएर नेपाल विश्वकपबाट वञ्चित भएपछि समर्थकहरू आक्रोशित बनेका छन् । बिहानैदेखि मैदानमा उपस्थिति जनाएका समर्थकहरू मैदान सुकाउने काम भइन्जेल खेल सुरु हुनेमा आशावादी थिए । एक समय घाम लागेर खेल सुरु हुने संकेत देखिएपनि मैदान पूर्णरूपमा तयार नहुँदा खेल हुन सकेन ।
खेल रद्द भएपछि समर्थकले क्यान, एसीसी र आईसीसीविरुद्ध नारा लगाउँदै खेल गराउन नसकेको आरोप लगाएका हुन् । समर्थकहरू आक्रोशित बनेपछि प्रहरी नै पुगेर सम्झाउनुपरेको थियो । त्यसपछि प्रहरीहरूले होहल्ला गर्ने समर्थकहरूलाई विस्तारै मैदानबाट बाहिर पठाएका थिए । आज विहान भएको वर्षाका कारण मैदानमा असर पुगेको थियो ।
करिब ५ घण्टासम्म मैदान सुकाउने काम गरिएको भएपनि मैदानको केही भाग निकै खराब अवस्थामा रहेकाले अम्पायरले ३ पटकको निरीक्षणपछि खेल नखेलाउने निर्णय गरे । समूह चरणमा दुवै टोलीले समान ३(३ खेल जितेका थिए । अफगानिस्तान नेट रनरेटमा अगाडि रहेकाले आजको खेलमा अंक बाँडिदा समान ७-७ अंक भएपनि नेट रनरेटकै कारण अफगानिस्तान अगाडि बढ्यो ।