आशिष स्मृति पत्रकारिता पुरस्कार पत्रकार किरण पौड्याल र क्रियाशील पत्रकार महिला पुरस्कार सुनिता मगरलाई प्रदान गरिएको छ । इलाम सदरमुकाममा आयोजित समारोहमा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानामगरले पत्रकारद्वय पौड्याल र मगरलाई पुरस्कृत गरे । नेपाल पत्रकार महासंघले हरेक वर्ष मेची क्षेत्रका उदीयमान पत्रकारलाई प्रदान गर्ने आशिष पुरस्कार पौड्याललाई प्रदान गरिएको हो ।
२०५९ साल वैशाख १ मा दुर्घटनामा परी निधन भएका पत्रकार आशिष राईको स्मृतिमा २०६१ सालमा महासंघले यो पुरस्कार स्थापना गरेको हो । करिब एक दशक यता पत्रकारितामा क्रियाशील पौड्याल इलाम पोस्ट, इलाम एफएम, इलाम आवाज, राष्ट्रिय समाचार समितिलगायत मिडियामा काम गर्दै अहिले हिमाल प्रेसको कपी इडिटरका रूपमा कार्यरत छन् ।
यस्तै, महासंघले हरेक स्थापना दिवसमा प्रदान गर्ने क्रियाशील पत्रकार महिला पुरस्कार मगरलाई प्रदान गरिएको हो । मगर इलामबाट सञ्चालित रेडियो नेपालवाणीमा कार्यरत छिन् । महासंघ इलाम शाखा अध्यक्ष भीम चापागाईंको अध्यक्षता तथा मन्त्री राना मगरको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा सिडिओ कल्पना श्रेष्ठ, जिल्ला प्रहरी प्रमुख एसपी एकनारायण कोइराला, महासंघका पूर्वकेन्द्रीय सदस्य सटेन्द्र जबेगू, प्रदेशका पूर्वउपसभापति सोम सुसेली, शाखाका पूर्वअध्यक्षहरू उमेश गुरुङ, कोकिला ढकाल, गैरसरकारी संस्था महासंघ उपाध्यक्ष इन्दिरा घिमिरे, पत्रकार आबद्ध विभिन्न संघ–संगठनका प्रमुख प्रतिनिधिलगायत विभिन्न क्षेत्रका व्यक्तित्व सहभागी भए ।