पाँचथर । बाँच्ने वातावरण दिनदिनै प्रतिकूल बन्दै गएपछि लोपोन्मुख बन्न पुगेको रेडपाण्डा संरक्षण कार्यक्रम सघन पार्न विशेष कार्यक्रम तय गरिएको छ । यसका लागि रेडपाण्डा बढी पाइने क्षेत्रमा करिडोर निर्धारण गरिएको हो । हाब्रे नामले चिनिने रेडपाण्डाको अस्तित्व रक्षाका लागि रेडपाण्डा नेटवर्क संस्थाले करिडोर निर्धारण गरेको हो । लगातारको संरक्षण कार्यक्रमका बाबजुद पनि रेडपाण्डाको उच्च मृत्युदर र चोरी शिकारी नरोकिएपछि करिडोर तोकेर काम गर्न लागेको बताइएको छ ।
अब कोरिडोरमा विशेष प्रविधिसहित वन अभिभावहरुलाई परिचालन गरेर संरक्षणका काम सघन पार्ने संस्थाका कार्यक्रम कोअर्डिनेटर पेमा शेर्पाले बताए । यसका लागि दातृ निकायबाट तीन जिल्ला लक्षित गरेर पाँच करोड ३६ लाख ७४ हजार ३४७ रुपैयाँ सहयोग प्राप्त हुने उनले बताए । जैविक विविधताको क्षेत्रमा क्रियाशिल संस्था दिपज्योति युवा क्लव सिदिनसँग फिदिममा आयोजना गरिएको कार्यक्रममा नेटवर्कले आगामी कार्यक्रमबारे योजना सार्वजनिक गरेको हो ।
वन कार्यालयहरु, हिमाली संरक्षण मञ्च ताप्लेजुङ्ग, दिपज्योती युवा क्लव पाँचथर, उच्च पहाडी जडिबुटी उत्पादन तथा संरक्षण संस्था इलामसँग मिलेर नेटवर्कले काम गर्ने जनाइएको छ । नेटवर्कले विगतदेखि गरिरहेको हाब्रेको बासस्थान अनुगमन, सचेतना कार्यक्रम र यससँग सम्बन्धित पर्यापर्यटन प्रबद्र्धनका कामहरुलाई थप प्रभावाकारी पार्ने जनाएको छ । सुरक्षित प्रजनन्स्थल, आहारा र बासस्थान अभावले रेडपाण्डाको अवस्था संकटमा परेको देखिएको छ । लेकाली क्षेत्रमा पाइने हाब्रे मानवीय गतिविधिका कारण लोप हुने अवस्थामा पुगेको दिपज्योतीका कार्यकारी निर्देशक सुनिल बान्तवा राईले बताए ।
अव्यवस्थित विकास निर्माण, घरपालुवा कुकुरको आक्रमण, अवैध व्यापार, डढेलो, जनचेतनाको कमी, जलवायु परिवर्तन जस्ता समस्याले पनि हाब्रे लोप भइरहेको बताइएको छ । निडर, लजालु, सोझोपन हाब्रेको प्राकृतिक स्वाभाव हुन् । यतिसम्मकी हाब्रे आफ्नो लागि आफै सुरक्षित हुन जान्दैन । जानकारहरुका अनुसार हाब्रे रुखमा बसेको बखत मान्छेले देख्दा पनि भाग्दैन् ।
यिनै कमजोरीको फाइदा लिंदै मांसाहारी वन्यजन्तु र मान्छेले सजिलै हाब्रेलाई मार्ने तथा पक्रिने गरेका छन् । यसबाट संरक्षणका लागि चुनौती बढिरहेको सिदिनका रेडपाण्डा संरक्षणकर्मी महेन्द्र राईले बताए । भनिन्छ–जुनै पनि चिज लोप हुँदै गएपछि मात्रै त्यसको महत्व बढ्छ । त्यस्तै चिज बनेको रेडपाण्डा अहिले पूर्वको लागि पर्यटकीय महत्व राख्ने गरी जङ्गलको ठूलो शान र शोभा बनेको छ ।