इलाम । कोशी प्रदेश सरकारले पर्यटन बर्ष-२०८२ को मस्कटको रुपमा रेडपाण्डालाई अघि सा¥यो । ‘८२ का लागि ८२ गन्तव्य’ सूचि सार्वजनिक गर्दै कोशी सरकारले १० करोड रुपैंयाँ बजेट विनियोजन गरेर तयारी गरिरहेको छ । उत्कृष्ट पर्यटकीय गन्तब्यहरु रहेको कोशीका पहाडी जिल्लामाविश्वकै दुर्लभ प्राणी रेडपाण्डा पाइन्छ । त्यही लोपोन्मुख रेडपाण्डा पर्यटन बर्षको मस्कटको रुपमा राखिएको छ । रेडपाण्डाको उपस्थितीका कारण भोजपुरको टेम्केमैयुङ गाउँपालिका र साल्पासिलिछो गाउँपालिकामा रेडपाण्डा संरक्षण अभियान थालिएको छ । पाँचथर र ताप्लेजुङ जिल्ला रेडपाण्डा पर्यटनको हब हुन् ।
प्रदेशको सवैभन्दा बढि रेडपाण्डा इलामको सन्दकपुर गाउँपालिकामा पाइन्छ । लोपोन्मुख रेडपाण्डाबाट पालिकाको समृद्धि खोज्दै अहिले नेपाल र भारतका पदयात्रीहरु सन्दकपुर गाउँपालिकामा रेडपाण्डा ट्रेलमा हिडिरहेका छन् । नेपाल र भारतका पर्यटकसंगै कोशी प्रदेशकी पूर्व पर्यटनमन्त्री खिनु लङ्वा लिम्बु, गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले पनि साथ दिइरहेका छन् ।
ढकमक्क फुलेको गुराँसको बनलाई चिरेर गएको पदमार्ग रेडपाण्डाको बासस्थान समेत हो । पदमार्गमा आधारित दोस्रो रेडपाण्डा महोत्सवको दोस्रो दिनको पदयात्रासँगै पाँचथर र इलामको सीमा क्षेत्र सन्दकपुर २ मा अवस्थित गोरुवाले क्षेत्रमा पर्यावरण संरक्षण र पर्यटन विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।
२६ सामुदायिक वन क्षेत्रलाई आफ्नो वासस्थान बनाएको विश्वकै दुर्लभ र आकर्षक बन्यजन्तु रेडपाण्डा सन्दकपुरमा पर्यटकको मुख्य आकर्षक बन्दै गएको छ । सन्दकपूरको आहालभञ्ज्याङदेखि अधिकारीबाससम्म रेडपाण्डाको चरिचरन र बासस्थान क्षेत्र हो । उक्त क्षेत्रमा हिजोआज पर्यटकको बाक्लो उपस्थिति देख्न सकिन्छ । फोटोग्राफीमा रमाउनेहरुको संख्या उत्तिकै छ । रेडपाण्डाको बसोबासले गर्दा सन्दकपुर गाउँपालिका–५ स्थित चोयाटार, हाँगेथाम, आहालभञ्ज्याङ, कैयाकट्टा, दोबाटे, छिन्टापू, टप्पु, अधिकारीबास वन क्षेत्रमा पर्यटकहरु प्रकृतिसँग रमाउँदै घुमफिर गरिरहेको देख्न सकिन्छ ।
नेपाल, भारत र युरोपसम्मका पर्यटकहरु रेडपाण्डाको सौन्दर्यमा लोभिएसँगै ‘रेडपाण्डा पर्यटन’ सन्दकपुर गाउँपालिकाको ब्राण्ड नै बनेको छ । रेडपाण्डासँगै वनमा पाइने सयौँ प्रजातीको चराहरु, वनैभरी फुल्ने चाँप, लालिगुराँसले पर्यटक अझै लोभिने गरेका छन् । छिनछिनमा बदलिरहने मौसम र हिउँदको हिउँ र वर्षातको झरीमा पर्यटक रमाउने गरेका छन् । सन्दकपुर गाउँपालिका भित्रका पर्यटकीयस्थल पछिल्लो समय पदमार्गले जोडिएका छन् ।
विश्व रामसार सूचीमा सूचीकृत माइपोखरीदेखि मानव निर्मित ढापपोखरी जोड्ने ४३ किलोमिटर लामो पदमार्ग निर्माण भएको छ । माइपोखरीबाट शुरू भएको पदमार्गले डम्बरसिंह सुनुवार संग्राहालय, सातखाल्डे सहिद पार्क, रेडपाण्डा संरक्षण केन्द्र टप्पु, सूर्योदयमा दृश्यावलोकन क्षेत्र छोक्रेभञ्ज्याङ, छिन्टापु डाँडा, गोरूवाले, धुपि, आहाल हुदै सन्दकपुर डाँडा जोडिन्छ । सन्दकपुरबाट गुराँसे भञ्ज्याङ्ग, बिखेभञ्ज्याङ, चौरीचौक, कालपोखरी, कैयाकट्टा हाँगेथाम हुँदै ढापपोखरी पुगेर पूरा हुन्छ ।
रेडपाण्डा पदमार्ग यात्राका क्रममा विश्वको अग्लो हिमश्रृङ्खला ६० बढी हिमालको दृश्य, लोपउन्मुख वन्यजन्तु रेडपाण्डा, चरिबाघ, मुनाल, डाँफे सहित सयौँ प्रजातीका चराहरू, सिमसार, नदीका मुहान, प्राकृतिक सुन्दरतामा रमाउन सकिनेछ । रेडपाण्डा पर्यटनले लेकाली बस्तीको जीविकोपार्जनको आधारसँगै पर्यावरणीय सन्तुलनमा समेत टेवा पु–याएको केचना कंचनजंघामा पर्यटन विकास समितिका कार्यकारी निर्देशक केशवकुमार द्यौराली बताउँछन् ।

विश्व रामसार सूचीचमा सूचीकृत माइपोखरीदेखि जौबारीसम्म जोड्ने पदमार्ग रेडपाण्डा पदमार्ग हो । पदमार्ग ४३ किलोमिटर लामो छ । रेडपाण्डा पदमार्गमा पर्ने कैयाकट्टाबाट मानव निर्मित चन्द्रपाल थेवे ढापपोखरीसम्म पनि पदमार्गले जोडिएको छ । माइपोखरीबाट शुरू भएको पदमार्गले पर्यटकीयस्थल डम्बरसिंह सुनुवार संग्राहालय, सातखाल्डे सहिद पार्क, रेडपाण्डा संरक्षण केन्द्र टप्पु, छोक्रेभञ्ज्याङ, छिन्टापु डाँडा, गोरूवाले, धुपि, आहाल हुँदै कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुर पुगिन्छ ।
सन्दकपुरबाट बिखेभञ्ज्याङ, चौरीचौक, कालपोखरी, कैयाकट्टा हाँगेथाम हुँदै ढापपोखरी पनि पुगिन्छ । सन्दकपुर गाउँपालिकाबाट रेडपाण्डा पदमार्ग नामाकरण भएको पदमार्गमा संघीय सरकारको पर्यटन विभागबाट ६ करोड र प्रदेश सरकारबाट १ करोड खर्च भएको छ । जुन सन्दकपुर गाउँपालिका १ को रामसार क्षेत्र माईपोखरीबाट वडा नम्बर ५ को जौबारी बजार जोडिन्छ ।

विश्वमा १० हजारको संख्यामा रहेका रेडपाण्डा सन्दकपुर गाउँपालिका क्षेत्र आसपास ३ सयको संख्यामा रहेको अध्ययनमा उल्लेख छ । रेडपाण्डाको अध्ययनका लागि रेडपाण्डा नेटवर्कसंगको सहकार्यमा सन्दकपुर गाउँपालिका भित्रका १० वटा रेडपाण्डामा रेडपाण्डा नेटवर्क र वन मन्त्रालयबाट रेडियोकलर जडान गरिएको थियो । सन्दकपुर गाउँपालिका भारतसंग सिमाना जोडिएको कारण पश्चिम बंगालका पर्यटकहरुलाई आर्कषित गर्ने योजना अघि सारेको छ । दोश्रो सन्दकपुर रेडपाण्डा महोत्वसका दौरान दुई देशका पर्यटनकर्मीहरुले सहकार्यका निम्ति ८ बुँदे माईपोखरी घोषणापत्र नै बनाएका छन् ।
नेपाल र भारतको पर्यटन विकासका निम्ती सिप, कला, जनशक्ति आदान प्रदानका लागि प्रतिवद्धता जनाउँदै पदमार्ग पर्यटनलाई अघि सारिएको छ । भारतीय पर्यटकहरुलाई रेडपाण्डा ट्रेलमा आर्कषित गराउनका निम्ति सन्दकपुर गाउँपालिकाले एक महिनासम्म पदयात्रा गर्ने पर्यटकलाई पर्यटन कार्यालय काँकडभिट्टा र केचना कञ्चनजंघा पर्यटन विकास समितिको काजागतका आधारमा ३० प्रतिशत दायित्व लिने भएको छ । घोषणापत्रमा हरेक बर्ष चैत्र २० गतेबाट रेडपाण्डा महोत्सव गरिने तय भएको छ । रेडपाण्डा पाइने क्षेत्रमा वृक्षारोण गर्दै सबै दातृ निकायमा पहल समेत गरिने भएको छ ।

८ बुँदे घोषणापत्रमा सन्दकपुर गाउँपालिका, केचना कञ्चनजंघा पर्यटन विकास समितिका कार्यकारी निर्देशक केशव द्यौराली, दिपज्योती युवा क्लब, एसिटी भारतको जशोदा क्षेत्री, आनन्द पारिक, पर्यटन प्रर्वद्धक सुजन तिमसिना, महिला उद्यमी प्रतिक्षा अधिकारीले हस्ताक्षर गरेका छन् । राज बसुको नेतृत्वमा १९९१ मा स्थापना भएको एशोसिएसन फर कन्जर्भेशन एण्ड टुरिज्म (एसिटी ) ले इलामको पर्यटन प्रर्वद्धनका लागि सहयोग गर्ने भएको छ ।
सिलिगुडी मुख्य कार्यालय रहेको एसिटीले प्राकृतिक, सांस्कृतिक, र ऐतिहासिक सम्पदालाई “उत्तरदायी पर्यटन“ मार्फत संरक्षण गर्दै आएको छ । पूर्वी तथा उत्तरपूर्वी भारतका साथै नेपाल, भूटान, बंगलादेश, र म्यानमारका सीमावर्ती क्षेत्रका बासिन्दाहरूलाई लक्षित गरेर कार्यक्रम अघि बढाएको संस्थाले रेडपाण्डा पर्यटन प्रर्वद्धन गर्न प्रतिवद्ध भएको हो ।