इलाम : महिला जागरण संघ इलामको २४ औं साधारण सभा एवं नवौ अधिबेशन सदरमुकाममा बुधबार सम्पन्न भएको छ । सामाजिक, सहकारी लगायतका बिषयमा इलाममा लामो समयदेखि यस संस्थाले काम गर्दै आएको छ । सभा तथा अधिबेशनको अवसरमा संस्थाले बिभिन्न क्षेत्रमा योगदान पुर्याउने २० जना ब्यक्तित्वलाई सम्मान गरेको छ ।
संस्था मार्फत सञ्चालन गरिएको माइभगवती बृद्धाश्रम सञ्चालनका लागि आर्थिक सहयोग गर्ने, अक्षयकोषका लागि सहयोग गर्ने, खानेपानी ब्यबस्थापनका लागि सहयोग गर्ने बिभिन्न सामाग्री देखि लत्ताकपडा सहयोग गर्ने ब्यक्तित्वलाई सम्मान गरेको हो ।
यस्तै संस्थाले संस्थाका कर्मचारी राम मगर एवं बृद्धाश्रमका कर्मचारीद्धय भिम रिजाल र सरस्वती गौलिलाई पनि सम्मान गरेको छ । संस्थाकी अध्यक्ष अनुजा शिबाकोटी, इलाम नगरपालिकाकी उपप्रमुख बिष्णु दाहाल लिम्बू, कोशि प्रदेश सदस्य बन्दना अधिकारीले सम्मानित ब्यक्तित्वहरुलाई सम्मान पत्र प्रदान गरिन् ।
सभाको उद्घाटन सत्रमा अध्यक्ष अनुजा शिबाकोटीले संस्थाको र संस्था मार्फत सञ्चालित बृद्धाश्रमको बार्षिक प्रगति प्रतिबेदन एवं संस्थाकी सदस्य पूष्पा लिम्बू र माइभगवती बृद्धाश्रम सञ्चालक समितिका कोषाध्यक्ष कोमल निरौलाले आश्रमको आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा इलाम नगरपालिका ८ का वडाध्यक्ष दलमान तामाङ, वडा नम्बर १० का वडाध्यक्ष दिलिप प्रधान लगायतले शुभकामना मन्तब्य राखेका थिए । संस्थाले सञ्चालन गरेको माइभगवती बृद्धाश्रम इलाम नगरपालिका १० गोदकमा रहेको छ । आश्रममा हाल २ जना पुरुष सहित १० जना आश्रित रहेका छन् ।
