इलाम । विराटनगर सिटी एफसीलाई सडनडेथमा हराउँदै इलामको रेड हर्स एफसी झापाको बुट्टाबारीमा जारी तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा भएको तेस्रो क्वाटरफाइनल खेलमा विराटनगरलाई सडनडेथमा ४–३ गोल अन्तरले हराउँदै रेड हर्स अन्तिम चारमा पुगेको हो ।
यसअघि निर्धारित समयमा ३–३ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । खेलको सुरुवातमा रेड हर्सले अग्रता लिएको थियो । खेलको ३१ औँ मिनेटमा मिङमा गुरुङले गोल गरे । तर, खेलको ४० औँ मिनेटमा गोल गर्दै विराटनगरका निवास फुयाँलले खेल बराबरीमा ल्याए । उनैले ६० औँ मिनेटमा गोल गर्दै खेल २–१ को स्थितिमा पुर्याए ।
खेलको ७५ औँ मिनेटमा हरि खवासले गोल थप्दै खेल ३–१ उल्ट्याए । तर, खेलको अन्त्यमा रेड हर्सका सङगे शेर्पा र विवेक सुनामले गोल फर्काउँदै खेल ३–३ गोलको बराबरीमा पुर्याए । शेर्पाले ७७ औँ र सुनवारले ७८ औँ मिनेटमा गोल गरे । खेलको प्लेयर अफ द म्याच रेड हर्सका गोलकिपर निशम दनुवार भए । उनले नगद ३ हजार र ट्रफी पाए ।
उनलाई प्रमुख अतिथि झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, बिर्तामोड ६ का वडा अध्यक्ष सूर्यप्रसाद कन्दङवा, आयोजकका अध्यक्ष हिमाल कन्दङवा लगायतले पुरस्कार प्रदान गरे । अन्तिम क्वाटरफाइनल न्यु स्टार एफसी सुनसरी र बगान युथ क्लब कचनकवलबीच हुने आयोजक बुट्टाबारी युनाईटेड क्लब बिच हुनेछ ।
प्रतियोगिताको विजेताले २ लाख २ हजार २२२ रुपैयाँ र उपविजेताले एक लाख एक हजार १११ रुपैयाँसहित ट्रफी पाउनेछ । त्यस्तै, बेस्ट प्लेयरलाई १५ हजार, हाई स्कोररलाई १० हजार, राइजिङ प्लेयरलाई १० हजार र बेस्ट गोलकिपरलाई १० हजार नगद प्रदान गरिने छ ।