इलाम । दोश्रो अन्तराष्ट्रिय आमन्त्रण महिला गोल्डकपको सेमिफाइनल प्रवेशका लागि डिफेन्डिङ च्याम्पियन मानेभञ्ज्याङ फुटबल क्लब भारतले विभागीय टिम त्रिभुवन आर्मीसंग खेल्दैछ । पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका २ टोली बिचको खेल प्रतिष्ठाको लडाईको रुपमा रहेको छ । दुवै टोली उपाधिको दाबेदारको रुपमा हेरिएको छ ।
नेपाली राष्ट्रिय टिमका खेलाडीले आर्मीको टिम भरिएको छ । उता मानेभञ्ज्याङले समेत राष्ट्रिय टिमका खेलाडी र प्रदेश स्तरका टिमबाट खेलेका खेलाडीहरु मैदान उतादैछ । आर्मीबाट पूर्व राष्ट्रिय खेलाडी अन्चली वाइवा, सर्मिला थापा, इन्दिरा राई, दिपा राई उत्रदैछ ।
फोर नेशन कपमा सहभागिता जनाएकी गोलरक्षक अन्जना राना मगर, बिमला विक, विमला चौधरी र चन्द्रा भण्डारी समेत टिमबाट इलामको मैदान उत्रदैछन् । । साफ च्याम्पियनसिपको दौरान घाइते भएको कारण दिपा शाही इलामको मैदानमा उपलब्ध हुने छैनन् । मानेभञ्ज्याङले माल्दिभ्स विरुद्ध भारतको राष्ट्रिय टिमबाट खेलेकी सिम्रन गुरुङ सहित नर्थ इस्टको अरुणाचल, आसाम, मेघालयका ६ जना खेलाडी टिममा राखेको छ । सिक्किमका ३ जना, कलकत्ताका २ जना र बाँकी खेलाडी दार्जिलिङको रहेका छन् ।
अघिल्लो संस्करणमा इलामको दिपेन्द्र शिखर फुटबल क्लबलाई हराउँदै उपाधि जितेको मानेभञ्ज्याङलाई नेपाली राष्ट्रिय खेलाडीले भरिएको आर्मी विरुद्ध प्रतिष्ठा जोगाउन चुनौती हुने देखिएको छ । उता आर्मीलाई समेत आफ्ना खेलाडीहरु अब्बल छन् भन्ने प्रमाणित गर्न मानेभञ्ज्याङ विरुद्ध दबाब हुनेछ ।
आर्मीबाट खेलेका पूर्व राष्ट्रिय खेलाडीहरुलाई इलामको मैदानको अनुभव छ । दिपा राई, इन्दिरा राई लगायतले २०७० सालमा इलामको ठुलो टुडिखेलमा आयोजित प्रथम लुम्बिनी कप महिला राष्ट्रिय लिग खेलेका छन् । त्यस समयको मैदान भन्दा यस पटक मैदानको अवस्था केही फरक छ । जसले गर्दा मैदान बारे बुझ्न समय लाग्ने देखिएको छ ।
मानेभञ्ज्याङका समेत केही खेलाडीहरु उपाधि जित्दा टिममा रहेका र नयाँ खेलाडीहरुको कलेक्सन टिम भएकाले केही असहज पक्कै हुनेछ । घाँसे मैदानमा प्रशिक्षण गरेको आर्मीलाई इलामको सुख्खा मैदानमा खेल्न सहज हुने देखिदैन् । आर्मी गत माघमा सम्पन्न महिला लिगमा तेश्रो स्थानमा सिमित बनेको थियो ।
पहिलो चरण र दोश्रो चरणको खेल चलिरहँदा दोश्रो स्थानम रहेको टिम इलिमिनेटरमा नेपाली पुलिस विरुद्ध टाइब्रेकरमा पराजित बन्दै तेश्रो स्थानमा सिमित बन्न पुगेको थियो । आर्मीको गोलपोष्ट नेपाली राष्ट्रिय टिमको दोश्रो रोजाईकी गोलरक्षक अञ्जना राना मगरले सम्हाल्नेछिन् ।
आर्मीलाई एएफसी बी लाइसेन्स प्रशिक्षक कृष्णसिंह ठगुन्नाले प्रशिक्षण दिएका छन् । महिला लिगका शिर्ष ४ क्लब इलामको मैदानमा सहभागि छन् । चौथो स्थानको बागमती दोश्रो क्वाटरफाइनल खेलमा नेपाल पुलिससंग टाइब्रेकरमा पराजित बन्दै बाहिरिएको छ । शिर्ष स्थानमा रहेको एपिएफले भोली खेल्दैछ ।