झापा ( काँकरभिट्टा) । झापाको रिडर्स झापा, देही आर्टस् र परिवर्तन थ्रिएटरको सहकार्यमा आयोजित कला साहित्य उत्सव–२०८१ को पाँचौँ संस्करण काँकरभिट्टामा सम्पन्न भएको छ । यस वर्षको संस्करणलाई आयोजकले पर्यावरण विमर्श को रूपमा मनाएको थियो । तीन दिनसम्म (फागुन १४–१६) चलेको यस कार्यक्रममा विभिन्न सत्रहरूमार्फत साहित्य, कला, पर्यावरण, पर्यटन, संरक्षण, वन्यजन्तु तथा राजनीतिका विविध पक्षहरूमाथि गहन छलफल भएको थियो।
पहिलो दिन : वातावरणीय संकट र संरक्षणको बहस
कार्यक्रमको पहिलो दिन डा. उत्तमबाबु श्रेष्ठ ले पर्यावरण संकट र नेपाल विषयक कीनोट स्पीच प्रस्तुत गरे । डा. अर्चना थापा, वसन्त बस्नेत लगायतका वक्ताहरूले साहित्यमा मान्छेको आधिपत्य विषयमा आफ्ना विचार राखे ।
संरक्षण कसले गर्ने ? समुदाय कि सरकार ? भन्ने महत्वपूर्ण विषयमा राम कार्की, बीरेन्द्र महतो लगायतका वक्ताहरूले आफ्नो दृष्टिकोण प्रस्तुत गरे । त्यस्तै सिर्जनाको प्रकृति सत्रमा मीन भाम, देवाशिस मोथे लगायतका साहित्यकारहरूले प्रकृति र सिर्जनाको सम्बन्धबारे चर्चा गरे ।
दोस्रो दिन : वन्यजन्तु र पर्यावरणीय दृष्टिकोण
दोस्रो दिनको प्रमुख आकर्षण वन्यजन्तु फोटोग्राफी सम्बन्धी शङ्कर लुइँटेलको विशेष प्रस्तुति रह्यो, भने देवेन खरेल ले नेपालका चरा तथा तिनको संरक्षण सम्बन्धी फोटो प्रदर्शनी तथा व्याख्यान दिए । यस्तै, राजनीति र पर्यावरण सत्रमा सुमना श्रेष्ठ, उषाकिरण तिमल्सेना, र मानुषी यमी भट्टराई ले आफ्नो विचार प्रस्तुत गरे ।
तेस्रो दिन सोनम वाङचुकको सन्देश र पर्यापर्यटनको सम्भावना
तेस्रो दिनको सुरुवात भारतीय पर्यावरण अभियन्ता सोनम वाङचुक को पर्यावरणः चिन्तनको मियो विषयक भिडियो सन्देशबाट भयो । त्यसपछि पर्यापर्यटनः सम्भावनाको सागर शीर्षकमा विशेष सत्र आयोजित भयो, जहाँ नेपाल पर्यटन बोर्डका सुर्य थपलिया, पर्यटन ब्लगर सचिन न्यौपाने, र ट्रेकिङ एजेन्सी ट्रेक ८५८६ का संस्थापक मनोज बस्नेत ले नेपालका पर्यटकीय सम्भावनाबारे आफ्नो विचार राखे ।
कार्यक्रमको अन्त्यतिर रैथाने ज्ञानको गहिराइ सत्रमा भोगिराज चाम्लिङ, झुमा लिम्बु लगायतका वक्ताहरूले आफ्ना विचार राखे । अन्तिम सत्रमा कसको धर्ती ? कसको आकाश ? भन्ने विषयमा विश्वप्रकाश शर्मा, प्रा.डा. स्वतसिद्ध सरकार, र सुधीर शर्मा बीच संवाद भयो ।
नाटक ‘सन्धिपुर’ को प्रस्तुति र ट्रेक ८५८६ को पर्यटन अभियान
प्रत्येक दिन सन्ध्याकालीन विशेष प्रस्तुति अन्तर्गत परिवर्तन थिएटरले सन्धिपुर नाटक मञ्चन गर्यो । यसैबीच, ट्रेक ८५८६ ले नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूलाई प्रवद्र्धन गर्न विशेष अभियान सञ्चालन गरेको थियो । तीन दिनसम्म चलेको यो उत्सवले साहित्य, कला, पर्यावरण, पर्यटन, संरक्षण, र समाजका विविध पक्षहरूमाथि विचार विमर्श गर्दै गहन सन्देश प्रवाह गरेको छ ।