इलाम । आयोजकको टिम भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । योसँगै भद्रपुरले सात लाख पुरस्कार सुरक्षित गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा आयोजक भद्रपुर ब्लेजर्सले काउर्न बाजार प्रगति संघ बंगलादेशलाई टाइब्रेकरमा हराउँदै उपाधिनजिक पुगेको हो ।
९० मिनेटको खेल १–१ को बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा भद्रपुरले बंगलादेशलाई ४–३ गोल अन्तरले पराजित गरेको हो । टाइब्रेकरमा भद्रपुरका तर्फबाट सत्यम शर्मा, दिवश उराउ, विदेशी खेलाडीहरू अरमान बिडोङ र अबयोमिले गोल गरे । कुलदिप कार्कीको प्रहार गोलपोस्टमा लागेर बाहिरियो ।
त्यस्तै, बंगलादेशका तर्फबाट साइडोस्टोन, एस सिल्लाह र साहिदले गोल गरे । युसुफ एमबीको प्रहार क्रसबारमा र इब्राहिमको प्रहार गोलपोस्टमा लागेर बाहिरियो । घरेलु दर्शकको समर्थन पाएको आयोजक भद्रपुर ब्लेजर्सले खेलको २९ औँ मिनेटमा अग्रता लिएको थियो ।
भद्रपुरका विदेशी खेलाडी अबयोमीले पेनाल्टी एरियाबाट गरेको प्रहार डिफेन्सबाट रिबाउन्स भएको बललाई सत्यम शर्माले कडा प्रहार गरी जाली चुमाए । पहिलो हाफमा १–० ले पछि परेको बंगलादेशले खेलको ६२ औँ मिनेटमा खेल बराबरीका ल्यायो । काजी रहदको लङ थ्रो पासमा साकिलले हेडमार्फत दोस्रो बार च्याप्दै गोल गरे ।
खेलको २१ औँ मिनेटमा भद्रपुरका कप्तान आशिष चापागाईंले गरेको कडा प्रहार क्रस बारमा लागेर फर्कियो । सोही बललाई अबयोमीले गरेको प्रहार आकाशियो । खेलको ७१ औँ मिनेटमा भद्रपुरका मिलन राईले गरेको प्रहार बाहिरियो । खेलको ८३ औँ मिनेटमा अबयोमीको क्रस पास प्रताप राईको कडा प्रहार क्रसबारको मध्य भागमा लाग्यो । खेलको ३४ औँ मिनेटमा बंगलादेशका साहिदको क्रस पासमा साइडोस्टोनले अवसर गुमाए ।
खेलको प्लेयर अफ द म्याच भद्रपुरका गोलकिपर टिकेन्द्र थापा भए । उनले नगद २१ हजार र ट्रफी पाए । खेलपछिको पोस्टम्याच कन्फ्रेन्समा भद्रपुरका प्रशिक्षक सचिन्द्र धिमालले आजको खेल निक्कै संघर्षपू्र्ण रहेको बताए । पहिलो हाफमा अग्रता लिए पनि खेल अन्तिम समयमा बराबरीमा रोक्किदा टाइब्रेकरमा सफलता मिलेको उनको भनाइ छ ।
फाइनलमा केही रणनीति बनाएर यही टिम मैदान उत्रार्ने उनले बताए । त्यस्तै, बंगलादेशका प्रशिक्षक सोएल रहमानले आजको खेलमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरेको बताए । खेल बराबरी भए पनि टाइब्रेकरमा चुक्दा हार व्यहोर्नु परेको उनको भनाइ छ । फुटबल प्रतियोगिताअन्तर्गत बुधबार अन्तिम सेमिफाइनल खेलमा झापा ११ एफसी र डागा युनाइटेड भुटानबीच हुनेछ ।