Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

१५औं इलाम जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माईमा सुरु

१५औं इलाम जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माईमा सुरु

  • सन्देश सम्वाददाता
  • सोमबार, फाल्गुन ५ २०८१


१५औं इलाम जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माईमा सुरु

माई । १५औ इलाम जिल्ला स्तरीय राष्ट्रपति रनिङशील प्रतियोगिता माई नगरपालिकामा आइतबारबाट सुरु भएको छ । माई नगरपालिका स्थित सित्तली खेलमैदानमा प्रतियोगिता सुरु भएको हो । इलामका १० वटै पालिकाकाको सहभागिता रहेको प्रतियोगिता कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना मगरले उद्धघाटन गरे ।

फागुन ६ गते सम्म सञ्चालन रहने प्रतियोगिता उद्घाटन गर्दै प्रमुख अतिथि रानाले कला, संस्कृति जगेर्ना गर्न र यसलाई व्यवस्थित गर्न खेलले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । राष्ट्रिय महिला फुटबल खेलमा कप्तानको भूमिका निर्वाह गर्ने एन्जिला तुम्बापो र कुशल ओलम्पिक धावक प्रमिला रिजाल माई नगरपालिकाकै खेलाडी भएको बताउँदै इलाम जिल्लाकै उच्चशिर राख्न खेलेको भूमिकाको प्रशंसा गर्दै प्रदेश सरकारले खेलकुदलाई व्यवस्थित गर्न नसकेको स्वीकार गरे ।

उनले खेलका लागि पर्याप्त बजेटमा प्रदेश सरकारले जोड दिने बताए । खेललाई अनुशासनको पाठ सिक्ने विषयको रुपमा लिएको बताउँदै व्यक्तिले मात्र नभएर राष्ट्रले नै इज्जत कमाउने कुरा खेलबाट रहने जानकारी दिए । कर्मठ, लगनशील र मेहनतबाट उपलब्धि हासिल गर्ने माध्यम खेलविधि रहेको मन्त्री रानाको भनाई छ ।

जिल्ला खेलकुद विकास समिति इलामको आयोजना र माई नगरपालिका इलामको समन्वयमा सञ्चालन रहेको प्रतियोगितामा ६ विधा अन्तर्गत भलिबल, कवडी, एथलेटिक्स, उसु, कराँते, तेक्वान्दो रहनेछ । जिल्लाका १० पालिका भित्रका ८ सय ८५ खेलाडी सहभागि रहेका छन् । रेफ्री र अन्य प्राविधिक एक सय २० जना हुनेछन् ।

प्रतिनिधि शिक्षक र अन्यसमेत गरी एक हजार पाँच सयभन्दा धेरै जना माई नगरमा भेला हुने समितिले जनाएको छ । कोशी प्रदेश खानेपानी तथा सिँचाइ मन्त्री एकराज कार्कीले खेललाई मर्यादित र अनुशासित बनाउने माध्यमका रुपमा प्रयोग गर्न सम्पूर्ण खेलाडीहरुलाई आग्रह गरे ।

प्रतियोगिताको व्यवस्थापन गर्दै रहेको माई नगरपालिका प्रमुख खम्बसिंह लिम्बूले माई नगरमा जिल्ला स्तरको प्रतियोगिता हुनु नगरका लागि राम्रो अवसर भएको बताए । अनुभव थोरै भएपनि उत्कृष्ट व्यवस्थापन गर्न नगरका सबै जनप्रतिनिधि र कर्मचारी जुटेको जानकारी दिए । माई नगरले प्रतियोगिताका लागि अन्तरपालिका, स्वास्थ्योपचार, खेलमैदानलगायत विभिन्न उपसमितिसमेत गठन गरेर सेवा दिई रहेको छ ।

नगरले सम्पुर्ण व्यवस्थापन सहित निर्माणाधीन माई अस्पतालको भवनमा खेलाडी लगायतलाई खानपान र बसोबासको व्यवस्था मिलाइएको छ । प्रतियोगिता उद्घाटन अवसरमा विभिन्न जातजातिका सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिएको छ ।

सदरमुकाम बाहिर सञ्चालन सुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आउँदो बर्षको १६ औ प्रतियोगिता सञ्चालनका लागि सुर्योदय नगरपालिका उपप्रमुख दुर्गाकुमार बरालले झण्डा ग्रहण गरे । यस अघि १४औ प्रतियोगिता माङ्सेबुङ गाउँपालिका र १३औं प्रतियोगिता फाकफोकथुम गाउँपालिकामा सम्पन्न भएको थियो ।

कार्यक्रममा ओलम्पिक खेलमा सहभागी रहि उच्च पदक ल्याउन सफल प्रमिला रिजाल, स्थानीय खेलक्षेत्रलाई सञ्चार क्षेत्र मार्फत अगाडि बढाउन योगदान गर्नुहुने सञ्चारकर्मीहरू बिमल दहाल, प्रेम अधिकारी र भगीरथ भण्डारीलाई सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बास्तोलाको अध्यक्षता, माई नगरपालिका उपप्रमुख हिमा भण्डारीको स्वागत र प्रदेश भलिवल संघका प्रशिक्षक राजकुमार खातीको सञ्चालन रहेको उद्घाटन सत्रमा प्रदेश सांसद शमशेर राई, इलाम नगरपालिकाका प्रमुख केदार थापा माई नगरपालिकाका प्रमुख खम्बासिंह लिम्बु, रोङ गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो, इलामका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, सूर्योदय नगरपालिकाका उपप्रमुख दुर्गा बराल, माइजोगमाई गाउँपालिकाका उपाध्यक्ष प्रविना राई, झापा जिल्ला खेलकुद विकास समिति अध्यक्ष भेषराज भण्डारी प्रशान्त लगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार