फिक्कल । इलामको सूर्योदय नगरपालिका–१० फिक्कलको समावेशी टोल संस्थाले सातौ साधारणसभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष फूर्वाछिरिङ शेर्पाको अध्यक्षता रहेको साधारणसभा वडाध्यक्ष पेमा उगेन लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा समावेशी टोलका पूर्व अध्यक्ष डिल्ली सुवेदी, तल्लो फिक्कल टोलका अध्यक्ष कृष्ण प्रसाद सुवेदी, संगम टोलका सचिव तोया ओलीले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा १ बर्षको अवधिमा टोल विकास संस्थाले गरेको गतिविधि र आर्थिक विवरण संस्थाका अध्यक्ष फूर्वा छिरिङ लेप्चाले प्रस्तुत गरेका थिए । साधारणसभाको अवसरमा टोलका १० जना विद्यार्थीहरुलाई कापी, पेन्सिल र बलपेन प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामाले समावेशी टोलले नमुना कार्य गरेको बताए । उनले टोलबासीहरुको एकताको कारण समावेशी टोलले विकास निर्माणमा समेत प्रगती हासिल गर्दै गएको बताए ।

उनले वडा कार्यालयको ठुला योजनाहरु भएमा आवश्यक बजेटका लागि समन्वय गरिदिने र साना कामहरु टोलवासीहरुको एकताबाट नै गर्न सुझाव दिए । लामाले खानेपानीको मुहान संरक्षणका लागि बजेट विनियोजन गरिदिने बताए । उनले प्रदेश सरकारबाट प्राप्त योजनालाई गुणस्तरिय बनाउनका लागि टोलवासीहरु जागरुक बन्न सुझाव दिए ।

उनले टोल सफा राख्नका लागि डस्टविन भन्दा पनि प्लास्टिकजन्य सामाग्रीहरुको खपत कम गर्न सुझाव दिए । टोल विकास संस्थाका पूर्व उपाध्यक्ष हरि सुवेदीले स्वागत गरेको कार्यक्रम सचिव गंगा पराजुलीले संचालन गरेकी थिइन् ।
