Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

जनयुद्ध दिवसमा इलाम बजारमा दीप प्रज्वलन

जनयुद्ध दिवसमा इलाम बजारमा दीप प्रज्वलन

  • सन्देश सम्वाददाता
  • बिहिबार, फाल्गुन १ २०८१


जनयुद्ध दिवसमा इलाम बजारमा दीप प्रज्वलन

इलाम : ‘३० औँ जनयुद्ध दिवस ०८१’ को अवसरमा इलाम सदरमुकामस्थित चोक बजारमा बिहीबार साँझ दीप प्रज्वलन गरिएको छ ।

२०५२ फागुन १ गते जनयुद्ध सुरु गरेको स्मरणमा नेकपा (माओवादी केन्द्र) ले विभिन्न स्थानीय तहसहित सदरमुकाममा दीप प्रज्वलन गर्दै दिवस मनाएको हो । कार्यक्रममा पार्टी तथा विभिन्न जनवर्गीय संगठनका नेता तथा कार्यकर्ताहरुको उपस्थिति थियो ।
सदरमुकाममा आयोजित दिवसमा दीपावली गर्दै माओवादी नेता राजेन्द्र किराती, सोममाया राई (सिन्धु) र मुक्कुमलुङ संरक्षण समिति संयोजक योगेन्द्र लावतीले सम्बोधन गरेका थिए ।

नेता किरातीले जनयुद्धमा होमिएको माओवादीकै कारण आज देशमा अढाई सय वर्ष लामो राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको बताए । उनले माओवादीले तत्कालीन समयमा उठाएका अधिकांश अधिकारका माग पूरा भएपनि बाँकी अधिकार पाउन प्राप्त अधिकारको रक्षा गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

दश वर्षे जनयुद्धले देशमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक व्यवस्था प्राप्त भएको तथा महिला, आदिवासी, जनजाति, दलित, पिछडा वर्ग र सीमान्तकृत समुदायले वर्षौँपछि राजनीतिक र सामाजिक अधिकार पाएर समान नागरिकको हैसियत बनाएको उनको भनाई थियो ।

सिन्धुले सदियौँदेखि दोस्रो दर्जाको नागरिकको रुपमा रही आएका महिलाहरु जनयुद्धले चेतना भर्दै चुला चौका छाडेर काखको बच्चा पिठ्युँमा च्याप्दै बन्दुक बोकेर युद्ध लड्न सक्ने भएको बताइन् । उनले आज देशमा समावेशी समानुपातिक व्यवस्था ल्याएर गाउँ गाउँमा सिंहदरबारको अधिकार पाउनुको मुख्य कारक जनयुद्ध भएको बताइन् ।

जनयुद्धकै कारण देशमा संघीयता र गणतन्त्र प्राप्त भएको भन्दै अझै धेरै अधिकार पाउन बाँकी रहेकाले प्राप्त अधिकारको रक्षा गर्दै थप अधिकारका लागि लड्न जनयुद्ध दिवसले ऊर्जा थप्ने बताइन
मुक्कुमलुङ संघर्ष समिति संयोजक लावतीले अहिलेको उपलब्धि माओवादी जनयुद्धकै उपलब्धि रहेको बताए ।

उनले मुक्कुमलुङजस्ता धार्मिक तथा साँस्कृतिक सम्पदाहरुको राज्यबाट अतिक्रमण भइरहेको बताउँदै मुक्कुमलुङ संरक्षणको आन्दोलनमा सहयोग गर्न माओवादीसँग अपिल समेत गरे ।

कार्यक्रमको सञ्चालन माओवादी केन्द्र इलाम नगर सचिव कमल दुलालले गरेका थिए । जनयुद्ध दिवस फाकफोकथुम, माङसेबुङ गाउँपालिकालगायतमा समेत मनाईएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार