इलाम । इलामका प्रहरी प्रमुख एसपी एकनारायण कोइरालालले लागुऔषध र अवैध निकासी नियन्त्रणमा आफु प्रतिवद्ध रहेको बताए । भरखरै इलाम प्रमुख भएर आएका कोइरालाले सञ्चारकर्मीहरुसंग परिचयात्मक कार्यक्रममा बोल्दै उनले लागुऔषध प्रयोगकर्ता र वितरकहरु नियन्त्रणको लागि आफ्नो मातहतको प्रहरीलाई निर्देशक दिने बताए ।
उनले तराइसंग सिमाना जोडिएको पालिकाहरुमा यसको समस्या बढि देखिएकाले विशेष निगरानी राख्ने बताए । संचारकर्मीहरुले प्रहरी प्रमुखसंगको अन्तरक्रियामा आउने समस्या सुन्ने मात्र समाधानमा नलाग्ने गुनासो माथि बोल्दै उनले आफ्नो कार्यकालमा सकारात्मक सन्देश छाडेर जाने बताए ।
उनले डिएसपी हुँदा यसअघि कार्यरत रहेको धेरै कार्यालयहरुमा प्रवक्ता भएर काम गरेको उल्लेख गर्दै पत्रकार र संचारकर्मीहरुसंग समन्वय गरेर अघि बढ्ने बताए । सिमा नाकामा हुने चोरी तस्करी नियन्त्रणका लागि मातहतका प्रहरीलाई तैनाथ राख्ने बताए ।
समयमा सुचना नपाउने गुनासो बारेमा उनले सहज रुपमा पत्रकारहरुलाई सुचनाको पहुँचमा पुग्नका लागि आफु तयार रहेको बताए । परिचयात्मक कार्यक्रममा सहभागी पत्रकारहरुले लागुऔषध, सिमा नाकाबाट हुने अवैध निकासीका बारेमा प्रश्नहरु राखेका थिए ।