सन्दकपुर । इलामको फुटबल इतिहासलाई पल्टाउँदा वि.स १९९० ताका राणा र रैती बिचको खेलबाट सुरु हुन्छ । इलामको ठुलो टुडिखेलमा राणा र जनता बिच पेट्रोलमेक्स बालेर पनि फुटबल खेलाइएको इतिहास साक्षी छ । सदरमुकाबाट विस्तारै फुटबल इलामको गाउँगाउँमा पुग्यो ।
सोही क्रममा विस २०२० ताका इलामको उत्तरी क्षेत्र सुलुबुङमा समेत फैलियो । हाल सन्दकपुर गाउँपालिका–३ रहेको सुलुबुङ क्षेत्रमा भारतबाट आएका शिक्षकले फुटबल खेल सुरुवात गराएको गाउँपालिका उपाध्यक्ष हरि बहादुर लुङ्गेली बताउँछन् ।
‘भारतबाट अध्यापनका लागि आएका हेममणी प्रधानले यस क्षेत्रबाट फुटबल खेलको सुरुवात गराएका हुन् । उनकै प्रेरणामा फुटबल खेल यस क्षेत्रमा भित्रिएको पाइन्छ । ’ उनले भने प्रधानले भित्र्याएको प्रतियोगिता एक दशकपछि आएर प्रतियोगिताको रुपमा सुलुबुङको लुरिङटारमा खेलाउन सुरु भएको छ ।
विस २०३४ सालमा टेक बहादुर बुर्जा मगरले ट्रफी दिएपछि प्रतियोगिता सुरु भएको पाइन्छ । स्वर्गिय छोरा गंगा बहादुर बुर्जाको स्मृतिमा ट्रफी सौजन्य गरेपछि प्रतियोगिता सुरु भएको इतिहास रहेको नवज्योती खेल संघका आर्थिक संयोजक गेशव खतिवडा बताउँछन् ।
सोही क्षेत्रका हरिश चन्द्र बुर्जाले तत्कालिन महेन्द्र पुलिस क्लबबाट २०३० को आसपासमा फुटबल खेले । बुर्जाको प्रेरणाले अहिले धेरै स्थानीय र जिल्ला स्तरका खेलाडीहरु उत्पादन भएका छन् । फाट्टफुट्ट प्रतियोगिता त्यसपछि संचालन भएपनि विधिवत रुपमा २०४९ सालमा कमल कुमार बुर्जाको अध्यक्षतामा नवज्योती खेल संघ स्थापना गरेर प्रतियोगिता संचालन हुन थाल्यो ।
सुरुमा मुक्ति दिवसको अवसर पारेर भाद्र १ गते प्रतियोगिता संचालन भएको थियो । ५ बर्षपछि संचालन भएको प्रतियोगिता त्यसपछि घटस्थापनको अवसरमा संचालन हुन थाल्यो । २०६९ सालबाट प्रजातन्त्र दिवसको अवसर पारेर प्रतियोगिता हालसम्म संचालन हुँदै आएको छ ।
यस बर्ष पनि माघ २८ गतेबाट प्रतियोगिता संचालन हुँदैछ । सेभेन ए साइड प्रतियोगिताको पुरुष खुल्ला तर्फ बिजेताले १ लाख ५ र उपविजेताले ५० हजार ५ रुपैया प्राप्त गर्नेछ । त्यसैगरी भेट्रान्स तर्फ ३० हजार ५ र १५ हजार ५ रुपैया प्राप्त गर्नेछ ।