माई । नेपाल आदिबासी जनजाती महासंघ माई नगर परिषद इलामको आयोजनामा प्रथम आदिवासी जनजाति सास्कृतिक महोत्सव शुरु भएको छ । माई नगरपालिका इलामको सहयोगमा शुरु भएको साँस्कृतिक महोत्सवमा विभिन्न जातिय झाँकी सहित जातिय पहिचान प्रस्तुति गरिने छ।
माई नगरपालिका-२ को गरुवा खोला पुल दक्षिण मादले खेतमा शुरु भएको १० दिने जनजाति सांस्कृतिक महोत्सवमा लिम्बु, राई, मगर, तामाङ, नेवार, कुमाल, सुनुवार, दनुवार, माझी, मुन्डा उराउ, शेर्पा लगायत जातिको सांस्कृतिक परिकार र पहिचान झल्कने स्टल राखिएको छ।
जातिय परिकारको स्टल सहित आआफ्नो पहिचान प्रस्तुती रहने गरि प्रदशनी समेत गरिने अध्यक्ष सेतु तामाङले जानकारी दिए । महोत्सबमा अन्य थप मनोरन्जनका स्टलहरु समेत रहने छन।
नेपाल आदिबासी जनजाति महासंघ माई नगर परिषद अध्यक्ष सेतु तामाङ्गको अध्यक्षता र जिल्ला अध्यक्ष अभिषेक एक्तेनको प्रमुख आतिथ्यतामा उद्घाटन भएको महोत्सव शुक्रवारे लखन चौकबाट जातिय झाँकी सहितको र्याली महोत्सव स्थल सम्म लगिएको थियो।
महोत्सब उद्घाटनको अबसरमा प्रमुख अतिथि एक्तेन, बिशिष्ट अतिथि माई-२का वडा अध्यक्ष उर्द वहादुर राई, माई-३ का वडा अध्यक्ष देव कुमार तामाङ, किरात याक्थुङ चुम्लुङका एन्जेश एक्तेन, किरात राई यायोक्खाका राम राई, नेपाल मगर संघका, ज्ञान वहादुर मगर लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
आयोजक संस्थाका उपाध्यक्ष दिपक राईले स्वागत गरेकाे उद्घाटन कार्यक्रमको सञ्चालन किरात राई यायोक्खाका सुवर्ण राईले गरेका थिए । महोत्सब माघ२८ सम्म सञ्चालन रहने छ।