Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

इलाम जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको माई नगरपालिकामा तिब्र तयारी

इलाम जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको माई नगरपालिकामा तिब्र तयारी

  • सन्देश सम्वाददाता
  • शुक्रबार, माघ १८ २०८१


इलाम जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको माई नगरपालिकामा तिब्र तयारी

माई : १५ औं राष्ट्रपति रनिङ शिल्डको माई नगरपालिकामा तिब्र तयारी थालिएको छ । आगामी फागुन पहिलो साता सम्पन्न हुने १५ औं राष्ट्रपति रनिङ शिल्ड सम्पन्न गर्नका लागि माई नगरपालिकाको दानाबारीमा तयारी थालिएको हो ।

इलामका १० वटा पालिकाका माध्यमिक बिद्यालयका एक हजार दुई सय बढी खेलाडी सहभागी हुने प्रतियोगिता सम्पन्न गर्नका लागि जिल्ला खेलकुद बिकास समिति र स्थानीय आयोजक माई नगरले खेल मैदान सहित आवासको तयारी थालेको जिल्ला खेलकुद बिकास समिति इलामका कार्यालय प्रमुख नारायण भट्टराईले जानकारी दिए ।

प्रतियोगितामा एक हजार दुई सय भन्दा बढी खेलाडी र दुई सय अफिसियल (रेफ्री) गरी एक हजार ४०० बढीको सहभागिता रहने छ । प्रतियोगितामा ६ वटा बिधा लागि भलिवल, कवड्डी, एथलेटिक्स, उसु, कराँते, तेक्वान्दो रहने छन् । तीन दिन सम्म संचालन हुने प्रतियोगितामा सहभागी खेलाडी र अफिसियल राख्नका लागि आयोजक पालिका माईले नगर अस्पताल सहित स्थानीय होटलमा ब्यवस्थापनको काम गरिरहेको माईका नगर प्रमुख खम्बा सिं लिम्बुले जानकारी दिए ।

माई नगरपालिकाको कार्यपालिका बैठकमा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष खगेन्द्र बास्तोलाले प्रतियोगिता संचालन बारे जानकारी गराएका थिए । प्रतियोगिता नगरपालिका संगै रहेको खेल मैदानमा संचालन गरिने छ । जसका लागि खेल मैदान बिस्तार सहितको ब्यवस्थापनको काम नगरले थालेको छ ।

प्रतियोगिता संचालनको तयारीका लागि जिल्ला खेलकुद बिकास समिति अध्यक्ष बास्तोलाको अध्यक्षतामा बसेको बैठकले माईका नगर प्रमुख लिम्बुको संयोजकत्वमा स्थानीय ब्यवस्थापन तथा निर्देशन समिति गठन गरेको छ । प्रमुख लिम्बुको संयोजकत्वमा गठित समितिले बिभिन्न उप समिति निर्माण गर्ने जनाएको छ ।

बैठकमा नगर प्रमुख लिम्बुले प्रतियोगिता ब्यवस्थित रुपमा संचालन गर्नका लागि नगरले कुनै कुरामा कमि हुन नदिने बताए । बैठकमा खेल मैदान, आवास , प्रतियोगिताको ब्यवस्थापन, शान्ति सुरक्षा लगायतका बिषयमा छलफल भएको थियो । बिगत तीन बर्ष देखि जिल्ला खेलकुद बिकास समितिले जिल्ला सदरमुकाममा केन्द्रित प्रतियोगितालाई बिद्यालय स्तरिय ग्रामिण खेलकुदको बिकास गर्ने उद्देश्यले स्थानीय पालिकामा पालैपालो गर्न थालेको थियो ।

फाकफोकथुम र माङ्सेबुङ गाउँपालिकामा यसअघिका संस्करण सम्पन्न भएका थिए । अध्यक्ष बास्तोलाले प्रतियोगिता सम्पन्न गर्न आयोजक पालिका सहित अन्य पालिकासंग आवश्यक बजेटका लागि समन्वय भइरहेको जानकारी दिए ।

केहि दिन अघि इलाममा समितिले जिल्ला समन्वय समिति सहित पालिका प्रमुख , शिक्षा शाखा, सुरक्षा निकायसंग प्रतियोगिता संचालन बारे छलफल गरेको थियो । ग्रामिण खेलकुदको बिकास गर्ने उद्देश्यले स्थानीय पालिकामा प्रतियोगिता संचालन गर्न थाले पछि इलामका १० वटै पालिकाले राष्ट्रपति रनिङ शिल्डलाई बजेट नै बिनियोजन गरेर पालिका स्तरमा छनौट प्रतियोगिता गर्दै आएका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार